काठमाडौँ । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विभिन्न देशका मन्त्रीहरू तथा गुजरातका मुख्यमन्त्रीहरूसँग नेपालमा धार्मिक पर्यटक भित्र्याउने तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा हवाई उडान गर्ने विषयमा छलफल गरेका छन् । भारतको गुजरातमा जारी आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनका क्रममा भएका साइडलाइन बैठकमा उनले सो छलफल गरेका हुन् । मन्त्री पाण्डे र भारतको गुजरातका मुख्यमन्त्री भूपेन्द्र पट्टेल, भुटानका गृहमन्त्री छिरिङ तथा कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडेसबीच शनिवार भेट भएको थियो ।
मुख्यमन्त्री पट्टेलसँगको भेटमा द्विपक्षीय हित र चासोका विषय छलफल भएको थियो । साथै नेपाल–भारतबिच सदियौँ पुरानो धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धको चर्चा भएको थियो । भेटका अवसरमा पर्यटनमन्त्री पाण्डेले भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई कसरी जनस्तरसम्म विस्तार गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । सो भेटमा मन्त्री पाण्डेले पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न चाहने अन्तर्राष्ट्रिय कम्पनीहरूलाई इन्धन लगायतका विभिन्न शुल्कमा छुट सहुलियत दिएको जानकारी गराउँदै गुजरातबाट पोखरामा सिधा हवाई उडान गर्न आग्रह गरे ।उनले नेपालको पर्यटकीय राजधानी पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि जाने धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावनाको बारेमा जानकारी गराएका थिए ।

