तनहुँ ३१ जेठ। तनहुँमा चितुवाको आक्रमणबाट तीन वर्षयता एघार बालबालिकाको मृत्यु भएको छ ।जिल्लाको भानु, बन्दिपुर, आँबु, व्यासलगायतका पालिकामा गरी चितुवाको आक्रमणबाट उक्त सङ्ख्यामा बालबालिकाले ज्यान गुमाएका हुन् । चितुवाको आक्रमणबाट आधादर्जन बढी बालबालिका घाइते भएका थिए ।जसमध्ये सबैभन्दा धेरै भानु नगरपालिकामा प्रभावित भएको छन् भने पछिल्ला दिनमा बन्दीपुर क्षेत्रमा पनि चितुवाको आतङ्क बढ्न थालेको छ ।
शनिबार बन्दीपुर गाउँपालिका–१ बागदलेस्थित वनमा चितुवाको आक्रमणबाट दुई जनाको आक्रमण गरी घाइते बनाएपछि पासो थापिएको छ । बन्दीपुरमा शनिबार ८ वर्षीया बालिका रियाना थापा र ३५ वर्षीया भीमलाल गरञ्नालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
वडा कार्यालयको आग्रहमा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चितुवा नियन्त्रणको प्रयास गरिएको बन्दीपुर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उक्त क्षेत्रमा चितुवाको आङ्तकले जनमानसमा त्रासको वातावरण बनेकाले चितुवा नियन्त्रण गरी सुरक्षित साथ वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन प्रयास गरिएको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालयले पनि एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनःआक्रमण गर्ने सम्भावना रहने हुँदा सर्तकताको लागि चितुवा नियन्त्रणको पहल गरिएको अध्यक्ष श्रेष्ठले बताए ।डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलप्रसाद काफ्लेले बिहान बेलुकाको समयमा उच्च सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरिएको बताए ।
ADVERTISEMENT

