काठमाडौँ । हरेक क्षेत्रमा युवाको भूमिका, नीतिगत सहभागिता र प्रश्न गर्ने क्षमताको विकास गर्ने उद्देश्यका साथ 'राष्ट्रिय युवा महोत्सव २०२६' काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । समन्वय नेपाल र आइडियाजको संयुक्त आयोजनामा सम्पन्न उक्त महोत्सवमा देशका विभिन्न क्षेत्रका युवा, नीति निर्माता, प्रविधि विज्ञ तथा सांसदहरूको बाक्लो उपस्थिति रहेको थियो ।गमलामा पानी हालेर र राष्ट्रिय गान बजाएर औपचारिक रूपमा सुरु गरिएको कार्यक्रमको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं प्रमुख अतिथि विराज भक्त श्रेष्ठले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले १६ देखि २७ वर्षका युवाहरूमा मानसिक स्वास्थ्यको समस्या गम्भीर रूपमा देखिएको भन्दै यसको समाधानका लागि बलियो सामाजिक सहयोग प्रणाली र आत्मीय सम्बन्ध आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले युवाहरूलाई केवल सतही रूपमा आवाज उठाउनुको साटो तथ्य र अनुसन्धानका आधारमा सरकारलाई रचनात्मक प्रश्न गर्न र सिर्जनात्मक बन्न आग्रह गरे ।
महोत्सवको पहिलो सत्र 'युवा नीति संवाद'मा पत्रकार अनिल बोगटीले सहजीकरण गरेका थिए । प्यानलिस्टका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सचेतक क्रान्तिशिखा धिताल, नेपाली कांग्रेसकी सांसद तथा सचेतक गीता गुरुङ, सार्वजनिक नीति विशेषज्ञ डा. प्रकाश भट्टराई र युवा प्रतिनिधि माजिद अन्सारी सहभागी थिए । छलफलमा जेनजी आन्दोलन, सुशासन, वैदेशिक रोजगार र नीतिगत सुधारका विषयमा गहन मन्थन भयो । युवा प्रतिनिधि अन्सारीले सिंहदरबार जनताभन्दा ठुलो हुन नसक्ने भन्दै राजनीतिक नेतृत्वमा उत्तरदायित्व र विनम्रता हुनुपर्नेमा जोड दिए ।छलफलका क्रममा युवा सहभागिताका नाममा 'टोकनिजम' (देखावटी सहभागिता) मात्र भइरहेको, इन्टर्नसिपमा पारिश्रमिक नपाउँदा युवाहरू बिदेसिन बाध्य भएको र अपाङ्गता भएका युवाहरूका लागि पूर्वाधार पहुँचयोग्य नभएको विषय उठाइएको थियो । जवाफमा सहभागी सांसदहरूले मानसिक स्वास्थ्य, पीडितको पहिचान र अपाङ्गता भएका व्यक्तिको पहुँचलाई ध्यानमा राखेर कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
'युवा र डिजिटल भविष्य : एआई र गोपनीयता' शीर्षकको दोस्रो सत्रमा युवा उद्यमी निरज काफ्लेको सहजीकरणमा अधिवक्ता बाबुराम अर्याल, अधिवक्ता योगिता राई र टेकपानाका सीईओ विजय कुमार तिमिल्सिनाबिच छलफल भएको थियो ।छलफलमा टेकपानाका सीईओ तिमिल्सिनाले एआईले उत्पादकत्व बढाए पनि मानिसहरू यसमा अति निर्भर हुँदा सिर्जनात्मकता घट्ने र गलत सूचना फैलिने खतरा बढेको बताए । यस्तै, अधिवक्ता योगिता राईले व्यक्तिगत स्वीकृतिबिना अरूको विवरण वा बालबालिकाको फोटो सामाजिक सञ्जालमा हाल्नु गोपनीयताको हनन् भएको उल्लेख गर्दै नेपालमा एआईसम्बन्धी विशिष्ट कानुनको अभाव रहेको औँल्याए । अधिवक्ता बाबुराम अर्यालले प्रविधिलाई नियन्त्रण गर्नुभन्दा विद्यालय स्तरदेखि नै 'डिजिटल साक्षरता' र 'नैतिक प्रयोग' सिकाउनुपर्नेमा जोड दिए ।
प्रतिबद्धतासहित महोत्सवको समापन महोत्सवको अन्तिम सत्रमा सांस्कृतिक प्रस्तुति तथा 'ओपन माइक' आयोजना गरिएको थियो, जहाँ युवाहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । सो क्रममा सहभागी तथा स्वयंसेवकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।कार्यक्रमको समापन गर्दै आइडियाजका अध्यक्ष अमृत देवकोटाले महोत्सवमा उठेका नीतिगत, सामाजिक र प्रविधिसम्बन्धी महत्त्वपूर्ण निष्कर्षहरूलाई दस्ताबेजीकरण गरी सरकार तथा सम्बन्धित निकायहरूसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
११ बुँदे 'युवा घोषणापत्र २०२६ जारी यसैगरी नेपालका सातै प्रदेशका युवा प्रतिनिधिहरूले मुलुकको लोकतान्त्रिक, सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय विकासमा युवालाई मुख्य साझेदारका रूपमा अघि बढाउने प्रतिबद्धतासहित ११ बुँदे ‘युवा घोषणापत्र २०२६’ पनि जारी गरे ।‘प्रविधि र साझेदारीमार्फत बहुपक्षीय सहकार्यलाई अघि बढाउँदै युवा’ भन्ने मूल मर्मका साथ भेला भएका युवाहरूले आफूहरूलाई विकासको केवल ‘लाभग्राही’ मात्र नभई देशको भविष्य निर्माण गर्ने नवप्रवर्तक, सक्षम नागरिक र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न राज्य तथा सरोकारवाला निकायहरूसँग आह्वान गरेका छन् । सुशासन र निर्णय प्रक्रियामा सार्थक सहभागितापारित घोषणापत्रमा लोकतन्त्र, जवाफदेहिता र नागरिक सहभागिताको सुदृढीकरणलाई प्राथमिकता दिइएको छ । सार्वजनिक सेवा, बजेट र नीतिको निगरानीमा युवाको भूमिका बढाउनका लागि सबल नीति र सहज संयन्त्र बनाउन माग गरिएको छ । युवा सहभागितालाई औपचारिक परामर्शमा मात्र सीमित नराखी सङ्घीय, प्रादेशिक र स्थानीय तहको निर्णय प्रक्रियामै समावेशी र संस्थागत सहभागिता सुनिश्चित गर्न घोषणापत्रमार्फत आह्वान गरिएको छ ।
डिजिटल रूपान्तरण र एआईको जिम्मेवार प्रयोग प्रविधिको द्रुत विकासलाई ध्यानमा राख्दै घोषणापत्रमा डिजिटल समावेशिता र समान पहुँचमा जोड दिइएको छ । कुनै पनि युवा डिजिटल रूपान्तरणबाट पछाडि नपर्ने गरी पूर्वाधार र सीप विकास गर्न माग गरिएको छ । साथै, एआई डिजिटल प्रविधिको नैतिक, सुरक्षित र जिम्मेवार प्रयोगका लागि डाटा गोपनीयता, अनलाइन सुरक्षा र भ्रामक सूचना नियन्त्रण गर्न प्रभावकारी र स्वतन्त्र नियमनका उपायहरू अपनाउन आग्रह गरिएको छ । रोजगार, शिक्षा र स्वास्थ्यमा अधिकार युवा बेरोजगारी समाधानका लागि युवाद्वारा सञ्चालित उद्यम, नवप्रवर्तन र हरित सीपमा लगानी बढाउन वित्तीय पहुँचको माग गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रमा मर्यादित रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न सरकार र निजी क्षेत्रलाई आह्वान गरिएको छ । यसैगरी, भेदभावमुक्त, गुणस्तरीय र भविष्यउन्मुख शिक्षाका साथै यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र अपाङ्गतामैत्री स्वास्थ्य सेवामा गोपनीय र सहज पहुँच सुनिश्चित गर्न जोड दिइएको छ ।जलवायु परिवर्तन र समावेशिताजलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न हरित उद्यमशीलता र वातावरणीय निर्णय प्रक्रियामा युवा नेतृत्वको माग गरिएको छ । महिला, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी र सीमान्तकृत समुदायका युवाहरूलाई विकासको मूल प्रवाहमा ल्याउने गरी ‘कोही पनि पछाडि नछुट्ने’ युवा नीति निर्माण गर्न आग्रह गरिएको छ ।घोषणापत्रलाई केवल कागजमा सीमित नराखी ठोस रूपमा कार्यान्वयन गर्न सातै प्रदेशमा राष्ट्रिय युवा सञ्जालमार्फत निरन्तर अनुगमन र संवाद गरिने प्रतिबद्धतासमेत युवा प्रतिनिधिहरूले व्यक्त गरे ।
ADVERTISEMENT

