काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ ज्याठास्थित छाया सेन्टर अगाडी ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि माघ २४ मा मध्यराति आक्रमण भयो । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी घटनास्थलको सिसिटिभी फुटेजमा आत्रमणकारीहरु सँगै देखिन्छन् । अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव रमेश फुलारा र दिनेश सिग्देल पनि कुटपिटमा संलग्न थिए । ती दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, जोशी अहिलेसम्म प्रहरीको अनुसन्धानबाट बाहिर छन् ।अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपालबहादुर शाही, क्याम्पस कमिटी सदस्य नवीन ऐर र शौजन्य शाहीलाई प्रहरीले फरार सूचीमा राखेको छ । अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई चाहिँ फरार सूचीमा पनि छैनन् । अनुसन्धान घेराबाट बाहिर छन् ।घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’ मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीलाई जोशी नेतृत्वको टिमले आक्रमण गरेको थियो ।
ड्युटीमा खटिएको सिपाहीलाई आक्रमण गर्नेलाई पक्राउ गरेर कारबाही गर्न मन्त्रीले निर्देशन दिनुपर्ने अवस्था आउनु ‘दुर्भाग्य’ भएको प्रहरी अधिकृतहरू बताउँछन् । एक पूर्वडीआईजीले रातोपाटीसँग भने– ‘ड्युटीमा कुटाइ खाँदा सङ्गठनले आरोपीलाई कारबाही गर्न खुट्टा कमाउनु दुर्भाग्य हो, यस्ता घटनाले प्रहरीको मनोबल कमजोर बनाउँछ ।पक्राउ परेकाहरूलाई पनि प्रहरीले कमजोर मुद्दा चलाएको छ । प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने गरी उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरु सामान्य धरौटीमा छुट्ने प्रचलन छ ।

