नेपालगन्ज : घरेलु मैदानमा आइतबार बाँके-११ स्तब्ध बनेको छ । बाँकेलाई ३ शुन्य गोलले हराउँदै ‘रौतहट डिएफए’ नेपालगन्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्यो नेपालगन्ज रंगशालामा आइतबार भएको खेलमा रौतहटका लागि जेनिफर रानामगरले २८ औं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि रौतहटकै समिक्षा राईले ४५ औं र पियाली रायले ५१ औँ मिनेटमा एक/एक गोल थपे । खेलमा रौतहटकी सिमरन राई प्लेयर अफ द म्याच घोषित भएकी छन् । प्रतिनिधि सभाका सांसद एवम् कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौंरले नगद ५ हजारसहित उनलाई पुरस्कृत गरे । बाँकेले गोल हान्ने मौका थुप्रै पटक गुमायो ।
बाँकेकी गोलकिपर राधिका ओली घाइते भइन् । त्यसपछि बाँकेले उनको ठाउँमा प्रतिक्षा भण्डारीलाई मैदानमा पठाएको थियो । सेमिफाईनलमा प्रवेश गरेको रौतहटले अब यही बैशाख १० गते फाईनलका लागि प्रतिस्पर्धा गर्नेछ । रौतहटले कर्णाली केएफए र सशस्त्र प्रहरीको विभागिय टिम एपिएफ क्लब मध्ये कुनै एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली र एपिएफ सेमिफाईनल प्रवेशका लागि सोमबार मैदानमा उत्रिदैछन् ।अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सुरु भएको प्रतियोगितामा कुल ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । यही बैशाख १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।
ADVERTISEMENT

