
उनीहरु नेपाली युवालाई भिजिट भिसामा दुबई तथा नेपालबाट सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उक्त गिरोहले प्रतिव्यक्ति रु सात लाखदेखि रु ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताउँछन् ।
प्रहरीले रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता सञ्चालन गर्ने केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । परम्परागत रुपमा रहेको सम्झौतअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ ।
सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन् । सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ ।