काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मुक्कुमलुङमा केवलकार निर्माणको प्रयासलाई कडा चेतावनी दिएका छन् । काठमाडौँको चुम्लुङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले भने, “केवलकार बनाउने दुस्साहस भए, लिम्बु लगायत उत्पीडित समुदायले बिद्रोह गर्छन्, नश्लवादी प्रवृत्तिको पतन सुरु हुन्छ र यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्नेछ ।
मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिद्वारा आयोजित कार्यक्रममा महतोले देशमा औपनिवेशिक सोचका साथ एकल राष्ट्र राज्यको शासन चलिरहेको आरोप लगाए । “यो राज्य बहुल सांस्कृतिक पहिचानमाथि आक्रमण गरिरहेको छ । सभ्यता र संस्कृतिको विनाश गरेर विकास सम्भव छैन, विकासको नाममा विनाश गर्ने प्रवृत्तिविरुद्ध हामी लडिरहेका छौं,“ उनले स्पष्ट पारे ।महतोले थपे, “अदालतले त प्रचलित कानूनअनुसार फैसला गर्छ, तर हाम्रो त गुनासो नै यही हो कि विद्यमान कानुन नै विभेदकारी छन्। केवलकार निर्माणको प्रयास संविधानको मर्म र भावना विपरीत छ ।“
उनले मुक्कुमलुङ पुगेर त्यहाँको पवित्र माटो समाएर देवीसँग आशीर्वाद लिएको स्मरण गर्दै भने, “त्यो पवित्र स्थानको अपमान सहन सकिन्न। केवलकार खन्ने खाडलमै अब नश्लीय प्रवृत्तिको अन्त्य हुनेछ ।“कार्यक्रममा पहिचानवादी मोर्चाका संयोजक प्रा. डा. महेन्द्र लावतीले मुक्कुमलुङमा केवलकार निर्माणको नाममा करोडौं रुपैयाँको भ्रष्टाचार भएको दाबी गरे । उनले भ्रष्टाचारलाई लुकाउने र थप भ्रष्टाचार गर्ने नियतले केवलकार परियोजना अघि बढाउन खोजिएको आरोप लगाए ।सो कार्यक्रममा संविधानसभा सदस्य राजकुमार नाल्बो, जनमुक्ति पार्टीका सन्जुहाङ पालुङ्वा, श्रीलिन्खिमलगायतका नेताहरूले समेत मन्तव्य राख्दै मुक्कुमलुङको संरक्षणका लागि संयुक्त संघर्षको आह्वान गरे ।
ADVERTISEMENT

