काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरेका बिरामीका नमुनाहरूमा हैजा पुष्टि भएको छ ।प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टका अनुसार कुल १० नमुनामध्ये ८ नमुनामा हैजा पुष्टि भएको हो । बाँकी २ नुमनाको रिपोर्ट भोलि आउनेछ ।हामीले अहिले सब कल्चर प्रक्रियाबाट पुष्टि गरिसकेका छौँ, बाँकी दुई नमुनामा पनि सम्भवतः पोजिटिभ नै आउला,’ डा. भट्टले भने ।राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले स्थानीय अस्पतालबाट प्राप्त बिरामीका नमुनामा परीक्षण गरेको हो ।
विभिन्न अस्पतालमा भएका बिरामीको नमुना ल्याइएको थियो । ८० प्रशितभन्दा बढीमा हैजा पुष्टि हुनुले समुदायस्तरमा फैलिरहेको संकेत गरेको छ,’ डा. भट्टले अनलाइनखबरसँग भने ।वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले मंगलबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार हैजा र झाडापखलाका १७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् ।शुक्रबार यता ३९१ जना झाडापखला र हैजाका बिरामी वीरगञ्जका एक दर्जनभन्दा बढी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।झाडापखला र हैजा गरी अझै २२० जना बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।
ठाकुरका अनुसार सबैभन्दा बढी झाडापखला र हैजाका बिरामी नारायणी अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालमा १०६ जना बिरामी उपचाररत छन् ।यसैगरी तराई अस्पतालमा ३३, नेसनल मेडिकल कलेजमा ३१, वीरगञ्ज हेल्थ केयर हस्पिटलमा २० जना बिरामी उपचाररत छन् ।यसैगरी सर्वोत्तम हस्पिटलमा ९, एडभान्स हस्पिटलमा ६, प्रभु हस्पिटलमा ५, नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा ३, नारायणी सेन्टर हस्पिटलमा २ जना बिरामी उपचाररत छन् ।यसैगरी आशाराम हस्पिटल, वीरगञ्ज न्युरो एन्ड जनरल हस्पिटल, स्पर्श एमएस हस्पिटल, भवानी हस्पिटल, अलि अर्थ हस्पिटलमा एक/एक जना बिरामी उपचाररत छन् ।उपचारपछि अस्पतालबाट हैजा र झाडापखलाका बिरामी डिस्चार्ज हुने क्रम बढे पनि हैजाका नयाँ बिरामी पुष्टि हुने क्रम भने रोकिएको छैन ।
सोमबार दिउँसो ४ बजेदेखि मंगलबार बिहान ११ बजेसम्म ९५ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिए ।उनका अनुसार नारायणी अस्पताल र तराई अस्पतालमा ३२/३२, नेसनल मेडिकल कलेजमा १३ जना झाडापखालाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । यसैगरी भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथालोजीमा ३/३ जना नयाँ हैजाका बिरामी फैला परेका छन् । यसैगरी अली अर्थो अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलमा समान २/२ जना झाडापखलाका बिरामीमा हैजाको संक्रमण पुष्टि भएको उनले बताए ।
यसैगरी नारायणी सेन्ट्रल हस्पिटल, नेपाल इन्डो हस्पिटल, नीलकण्ठ हस्पिटल, नेपाल मेडिसिटी वयोधा हस्पिटल र सर्वोत्तम हस्पिटलमा एक/एक जना झाडापखलाका बिरामीमा हैजा संक्रमण पुष्टि भएको छ ।जनस्वास्थ्य कार्यालय पर्साका अनुसार २४ जना बिरामीलाई आईसीयू र ६ जनालाई एचडीसीयूमा राखेर उपचार भइरहेको छ ।वीरगञ्ज हेल्थ केयर हस्पिटलमा ९ र तराई हस्पिटलमा ८ जना बिरामीको आईसीयू कक्षमा उपचार भइरहेको छ । यसैगरी सर्वोत्तम हस्पिटल र नीलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरमा २/२ तथा नेसनल मेडिकल कलेज, प्रभु हस्पिटल र भवानी हस्पिटलमा एक/एक जना बिरामी आईसीयूमा उपचाररत छन् । यसैगरि तराई हस्पिटलमा ४, सर्वोत्तम एमएस हस्पिटल र नेसनल मेडिकल कलेजमा १ जना बिरामी एचडीसीयूमा उपचाररत छन् । हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । विज्ञका अनुसार झाडापखाला जस्तो देखिने हैजा केही गम्भीर प्रकृतिको हुन्छ ।
उक्त जीवाणुको संक्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन् । हैजाको पहिलो स्रोत फोहोर वा तलाउ हुन् । हैजाको जीवाणु संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ । जटिल समस्या देखियो भने तुरुन्तै उपचार दिन नसके मृत्यु हुन्छ । विज्ञका अनुसार केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ । हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका मांसपेसी बाउँडिने, बान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् ।
गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने विज्ञ बताउँछन् ।यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजनको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो । हैजाबाट बच्न शौचालयमा मात्रै दिसा-पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाबपछि राम्रोसँग मिचिमिची साबुन-पानीले हात धुने, खाना बनाउनुअघि साबुन-पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने विज्ञको सुझाव छ । 
