काठमाडौँ — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडक अनुशासन उल्लंघन गर्ने र लापर्बाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया सुरू गरिएको बताएका छन् । यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै एसएसपी अधिकारीले पटक–पटक नियम उल्लंघन गर्ने र जरिवाना तिर्न समेत नआउने चालकहरूलाई अब नछोडिने बताएका हुन् । एसएसपी अधिकारीले ट्राफिक प्रहरीको पहिलो मिसन नै व्यवहारमा परिवर्तन ल्याउनु रहेको बताए । उनले प्रहरी पनि समाजकै हिस्सा भएको स्वीकार गर्दै कमी–कमजोरी भए सुधार्दै लैजाने प्रतिज्ञा समेत गरे ।
‘यदि कुनै ट्राफिक प्रहरीले अपारदर्शी ढंगले काम गर्छ वा नराम्रो व्यवहार गर्छ भने मलाई सिधै जानकारी दिनुस्, हामी तत्काल एक्सन लिन्छौँ । कसैलाई पनि पेसागत मर्यादा बाहिर गएर व्यवहार गर्ने छूट छैन । शरीरभरि मुन्द्रा लगाउने, कपाल ठाडो पार्ने र अभद्र पोसाक लगाउने चालक–सहचालकका कारण यात्रुहरू डराउने अवस्था छ । आफ्नो चालक र सहचालकको हुलिया र गेट–अप चेन्ज गर्नुस् । हामी उनीहरूलाई तालिम दिन तयार छौँ ।
यातायात क्षेत्रमा रहेको ‘ठेक्का प्रणाली’ (दिनको निश्चित रकम बुझाउनुपर्ने नियम) का कारण चालकहरूले तीव्र गतिमा गाडी कुदाउने र लुछाचुँडी गर्ने गरेको उनले बताए । यसको सट्टा ई–टिकटिङ र अनलाइन सिस्टममा जान व्यवसायीहरूलाई एसएसपी अधिकारीले आग्रह गरे । बिहानै स्कुल बस र सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवन गरेर चलाइरहेको भेटिएको भन्दै ट्राफिक प्रहरी यसमा निकै कठोर हुने उनको भनाइ छ ।
ADVERTISEMENT

