काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले आयोजनाहरू विना तयारी कार्यान्वयनमा जाँदा बढी सङ्घर्ष गर्नु परेको बताएका छन् । पूर्व योजनाकार मञ्चद्वारा बिहीबार ललितपुरमा आयोजित सार्वजनिक नीति संवाद बजेट कार्यान्वयन र समाधानमा चुनौतीहरू विषयक कार्यक्रममा उपाध्यक्ष अधिकारीले आयोजना प्रविष्ट गर्नु मात्र ठुलो कुरा नभएको भन्नु हुँदै सबै मापदण्ड पुरा नगरेको भए अध्ययनका आयोजनामा र सम्पूर्ण चरण पुरा गरेका आयोजना कार्यान्वयनमा जाने गरी दुई वटा कार्य योजना बनाइएको समेत जानकारी दिए ।
उनले कार्यान्वयनमा नजाने आयोजना अध्ययनमा जाने समेत बताए । उपाध्यक्ष अधिकारीले अहिलेको विनियोजन ऐन अनुसार यसै आर्थिक वर्षमा अध्ययनमा गएका आयोजनाहरू सम्पन्न भयो भने कार्यान्वयनको चरणमा जान सक्ने समेत बताए । उनले जहाँ निजी क्षेत्रले क्रेडिट लिएका छैनन् र बैङ्कमा तरलता जम्मा भएको अवस्थामा सरकारले देश भित्र भएको स्रोत प्रयोग गर्नु पर्ने र यससन्दर्भमा आन्तरिक ऋण बाह्य ऋणसँगै तुलना गर्न नमिल्ने समेत बताए । बजेट कार्यान्वयनको सन्दर्भमा अर्थशात्रीहरुको नजरमा आन्तरिक र बाह्य ऋण एकै नभएको र त्यसलाई फरक ढङ्गले हेर्नु पर्नेमा जोड दिए ।निजी क्षेत्र लगानीको निम्ति उत्साहित नभएको ठाउँमा सरकारले ऋण लिएरै भए पनि काम गर्नु पर्ने उनले बताए ।

