झापा — आगामी असोज ३ गतेदेखि झापाको मेचीनगर–१५ स्थित ज्यामिरगढीमा ‘त्रिवेणी च्यालेन्ज कप–२०८२’ हुने भएको छ ।त्रिवेणी युवा क्लबले ज्यामिरगढीको पहिचानलाई थप उचाइमा पुर्याउन अन्तर्राष्ट्रिय आमन्त्रणीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । असोज ११ सम्म सञ्चालन प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी ८ टिमको सहभागिता रहने क्लबका अध्यक्ष विदुरसिंह खवासले जानकारी दिए । उनका अनुसार आयोजक त्रिवेणी युवा क्लब, मानेभन्ज्याङ दार्जिलिङ (भारत), झापा एफसी, ब्रदर एफसी, बेलबारी फुटबल क्लब, सैनिक फुटबल क्लब, रेडहर्स इलाम र युकेएफसी कर्सङ (भारत) गरी ८ टिमको सहभागिता रहनेछ ।
प्रतियोगिता विजेताले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष खवासले बताए । प्रतियोगिता सञ्चालन गर्न आयोजकले २१ लाख रकम खर्च हुने अनुमान गरेको छ । उद्योगी–व्यवसायी, कलकारखना सञ्चालक, वडा कार्यालय, नगरपालिकालगायतसँग सहयोग मागेर प्रतियोगिता संचालन गरिने क्लबका सचिव मनिष गहतराजले बताए ।
२०५३ मा स्थापना भएर खेल क्रियाकलापमा सक्रिय क्लबले यसअघि पनि खेलका विविध प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितालाई मेचीनगर–१५ वडा कार्यालयले समेत एक लाख रुपैयाँ सहयोग गर्ने वडाध्यक्ष गुणराज भट्टराईले बताए ।

