जुवा काण्डमा १३ लाख रुपैयाँसहित नेतादेखि अभियन्तासम्म पक्राउ
zeenepal
२०८२ आश्विन २३,
102
Shares
नेपालगन्ज, असोज । तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न बाँके प्रहरीले सक्रियता बढाएको छ । गएराती नेपालगन्जबाट प्रहरीले १४ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जुवातास विरुद्ध प्रहरीलाई कडाइका साथ नियमन गर्न निर्देशन दिएपछि मातहतको टिम सक्रिय भएको छ । नेपालगन्ज उपमहानगरपालिका—२ बाईपास रोडस्थित बिज्ञान श्रेष्ठले संचालन गरेको मौरी रेष्टुरेन्टमा छापा मार्दा १३ लाख ६३ हजार ८ सय रुपैया र जुवामा प्रयोग भएको तास सहित १४ जनालाई नियन्त्रणमा लिइएको एसपी जिसीले जानकारी दिए ।
लुम्बिनी प्रदेस प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढामगरको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले रेष्टुरेन्टमा रितपुर्वक तलासी लिँदा रेष्टुरेन्टको दोस्रो तल्लामा रहेको हल कोठामा रातोमा सेतो रंगको पर्दा भुईमा बिछ्याई खाल बनाएको अवस्थामा जुवाडेलाई नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीले जुवा खालवाट नगद सहित खेल्दै गरेको खोलेको २ गड्डी तास र नखोलेको ८ गड्डी तास बरामद गरेको बाँके प्रहरी प्रवक्ता दिपक पातलीले जानकारी दिए ।
पक्राउ पर्नेमा नेपालगन्ज २ न्यूरोडका २८ वर्षीय बिज्ञान श्रेष्ठ, नेपालगन्ज मुक्तीपुरका ३६ वर्षीय गणेश बस्नेत, नेपालगन्ज १६ जयसपुरका ४६ वर्षीय सेताज अन्सारी, नेपालगन्ज ९ त्रिभुवनचोकका २४ वर्षीय ऋषि गुप्ता, नेपागन्ज ४ बसपार्कका ५२ वर्षीय तरूण गौतम, कोरियनपुरका ३७ वर्षीय बिनोद खड्का, बसपार्कका ४८ वर्षीय मोहम्मद सफिक बेहना, नेपालगन्ज १८ कारकाँदोका ४७ वर्षीय संगम शाह, नेपालगन्ज ४ बसपार्कका ५० वर्षीय मधुसुधन दाहाल, बसपार्कका ४५ वर्षीय मेघराज गौतम, नेपालगन्ज १ धम्बोजीका ४५ वर्षीय रमेश शाही, कोहलपुर नगरपालिका ११ पिपलचौताराका ३८ वर्षीय भागिरथ यादव, कोहलपुर ९ झण्डहवाका ४२ वर्षीय नन्दलाल यादब र कोहलपुर २ लक्ष्मणपुरका ४० वर्षीय सुमन केसी रहेको डिएसपी पातलीेले जानकारी दिए । पक्राउ परेका जुवाडेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।