काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबको निकास संसद् पुनर्स्थापना नभई ताजा जनादेश भएको बताएका छन् ।बुधबार पत्रकार सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् ।उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ ।एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए ।अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ ।
यसका लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईंहरूको तमासा अब हामी हेरेर बस्दैनौं,’ आजपा अध्यक्ष साहले भने, ‘देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेको जनताको जनविद्रोहको सम्बोधन होस् । अन्तरिम संविधानसहित नयाँ सरकार बनोस् भन्ने हामीले चाहेका थियौं । नेताहरूले यसलाई धुमिल बनाए, विदेशी शक्तिहरूले हाइज्याक गर्दिए ।दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको बताउदै उनले अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको बताए ।

