धनगढी । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनमा देश जलिरहेका बेला आफ्नो ज्यान जोगाउन हेलिकोप्टरबाट भाग्नेलाई जनताले किनारा लगाउने बताएका छन् । नेता रावलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली देश जलिरहेका बेला राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा समितिको बैठक समेत नराखेर हेलिकोप्टरबाट भागेको आरोप लगाएका छन् अगामी १३ मंसिरमा धनगढी आयोजना गरिने एकता सन्देश सभाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा रावलले २३ र २४ भदौमा राष्ट्र संकटमा भएका बेला प्रधानमन्त्रीको हैसियतमा ओली र सत्तारुढ गठबन्धन नेपाली कांग्रेसले कुनै भूमिका नखेलेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले अहंकारी भाषामा आफूलाई शक्तिशाली बनाउने गरेकोमा २३ र २४ भदौको घटनामा उपस्थिति देखाउन नसकेर भाग्नुपर्ने अवस्था बनेको रावलको टिप्पणी थियो ।
गठबन्धन सरकारका प्रधानमन्त्रीले बारम्बार शक्तिशाली सरकार २०८४ सम्म अटल रहन्छ भन्ने अहंकारयुक्त भनाइ सुनिन्थ्यो । तर दु:खका साथ भन्नुपर्छ २३ र २४ भदौको अकल्पनीय घटनामा न त्यो शक्तिशाली सरकारले उपस्थिति देखाउन सक्यो न त्यसले देशका व्यवस्थापिका, कार्यपालिका, शासन प्रशासनको संरक्षण गर्न सक्यो,’ रावलले भने, ‘गठबन्धन सरकार नालायक, शासन गर्न असक्षम त्यसका प्रधानमन्त्री राष्ट्र जल्दै गर्दा राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिको बैठक नगरेर गैर जिम्मेवारी किसिमले आफ्नो ज्यान बचाउन सेनाको हेलिकोप्टरबाट भागेको हामीलाई थाहा छदैछ ।
रावलले ओलीको पछि लागेर नेपाली कांग्रेस पनि २३ र २४ भदौको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको दाबी गरेका छन् ।अहिले कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेपनि राष्ट्रलाई संवेदनशील अवस्थामा पुर्याउने काममा केपी ओलीसँगै सहभागी भएको स्पष्ट देखिन्छ,’ उनले भने, ‘२३ र २४ भदौको घटनाको जिम्मेवारी नेकपा एमाले र कांग्रेसको शिर्ष नेतृत्वसँगै सरकारमा भएकाहरुले लिनुपर्छ ।’सरकारको प्रमुख कर्तव्य सीमा सुरक्षा र जनताको सुरक्षा गर्ने हुने भएपनि तत्कालीन सरकार दुवैमा असफल देखिएको बताउँदै जनताले आम निर्वाचनमार्फत किनारा लगाउने दाबी गरेका छन् । २३ र २४ भदौको घटनाको छानविनका लागि बनेको समितिले निष्पक्ष छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।

