
बाँके — डुडुवा गाउँपालिकामा हुलाक सेवाको वर्तमान अवस्था, देखिएका समस्या तथा सुधारका उपायहरूबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ। डुडुवा गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अगाउँपालिकाका उपाध्यक्ष साहिदा बानाेको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरू, वडा सदस्य तथा वडा सचिवहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, स्थानीय सुरक्षा निकायका प्रमुखहरू, सञ्चारकर्मीहरू लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा हुलाक सेवाको पहुँच, सेवाग्राहीले भोग्दै आएका समस्या तथा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले हुलाक सेवालाई समय सापेक्ष, प्रविधिमैत्री र जनमैत्री बनाउन आवश्यक सुझाव तथा धारणा प्रस्तुत गरेका थिए। कार्यक्रमले स्थानीय तह, हुलाक सेवा प्रदायक निकाय र सरोकारवालाबीच आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। साथै पछिल्ला केही वर्षयता जिल्ला हुलाक कार्यालय बाँकेको नेतृत्व सक्रिय बनेपछि हुलाक सेवाबारे स्थानीय तहमा जनचेतना अभिवृद्धि हुँदै गएको सहभागीहरूको भनाइ रहेको छ।


