काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. डा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । शिवाकोटी त्रिवि शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्रा. डा. तारादत्त भट्ट नियुक्त भएका छन् ।
शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालय रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताए ।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारी लगायत उपस्थित थिए ।

