बारा, १७ फागुन ।
बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । लामो समयदेखि एउटै अनुहारले नेतृत्व गर्दै आएको भन्दै मतदाताले नयाँ र योग्य उम्मेदवार रोज्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ई. अरविन्द साह पछिल्ला दिनहरूमा क्षेत्र न. ३ का विभिन्न टोलटोलमा घरदैलो अभियान गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरीरहेका छन् । घरदैलोका क्रममा उनले विगतका निर्वाचित प्रतिनिधिले जनतासँगको सम्बन्ध कायम राख्न नसकेको टिप्पणी गर्दै अब परिणाममुखी नेतृत्व आवश्यक भएको बताएका छन् ।
मतदातासँग कुरा गर्दै साहले भने, “चुनावको बेला मात्रै जनताको घरमा पुग्ने र जितेपछि पाँच वर्ष नदेखिने राजनीतिक संस्कार अब अन्त्य हुनुपर्छ । मेरो पहिलो प्राथमिकता जनताको विश्वास फर्काउने र काममार्फत राजनीति प्रमाणित गर्ने हो ।”
उनले बाराको समग्र विकासका लागि पाँच मुख्य एजेन्डा अघि सारेका छन् । तीमध्ये रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासनलाई प्रमुख रूपमा जोड दिएका छन् ।
साहले आफ्नो योजना स्पष्ट पार्दै भने, “बारामा उद्योगको ठूलो सम्भावना छ तर नीतिगत जटिलता र पूर्वाधार अभावले लगानी रोकिएको छ । संसदमा पुगेपछि उद्योगमैत्री वातावरण बनाउन पहल गर्नेछु । युवालाई विदेश जान बाध्य बनाउने होइन, यहीँ अवसर सिर्जना गर्ने लक्ष्य छ ।”
उनले कृषि क्षेत्रलाई आयमुखी बनाउन बजार व्यवस्थापन, भण्डारण र प्रविधि विस्तार आवश्यक रहेको पनि बताए । “किसानले उत्पादन गर्छन् तर मूल्य पाउँदैनन् । कृषि र उद्योगलाई जोडेर स्थानीय अर्थतन्त्र बलियो बनाउनु मेरो एजेन्डा हो,” उनले भने ।
ई.साहले सुशासन र पारदर्शितालाई आफ्नो राजनीतिक अभियानको केन्द्रमा राखेको बताएका छन् । “राजनीति सेवा हो, सुविधा होइन । खर्च, योजना र निर्णय सबै सार्वजनिक गर्ने अभ्यास सुरु गर्नुपर्छ,” उनले थपे ।
देशमा नयाँ राजनीतिक सोच आवश्यक रहेको उल्लेख गर्दै उनले संसदमा परिवर्तनकारी समूह निर्माणका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फ घण्टी छापमा मतदान गर्न आग्रह गरेका छन् । उनले नयाँ पुस्ताको नेतृत्वलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याउँदै विकास र परिणाममुखी राजनीति अबको प्राथमिकता हुनुपर्ने बताए ।
यसैबीच, नेपाली कांग्रेसको आन्तरिक सर्वेक्षणको स्थानीय विवरणअनुसार बारा क्षेत्र नम्बर ३ मा कांग्रेस र एमालेको अवस्था अपेक्षाकृत कमजोर देखिएको र नयाँ शक्तिका रूपमा रास्वपाका उम्मेदवार साह प्रतिस्पर्धामा अगाडि देखिएका छन् ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाता, घरदैलो अभियानको सक्रियता तथा परिवर्तनको एजेन्डाका कारण यस क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।
साहले भन्छन्, “यो चुनाव व्यक्ति जिताउने होइन, राजनीतिक संस्कार बदल्ने अवसर हो । त्यसैले जनताको भरोसा जितेर काम गर्ने अठोट लिएको छु ।”
ADVERTISEMENT

