काठमाडौँ । नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिए।
मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन् । यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन् । ती विपद्मा ७४ वटा घर, ३५ वटा गोठमा क्षति पुगेको र १०६ वटा पशुचौपाय मरेको प्रहरी मुख्यालयले जनाएको छ । ती विपद्बाट ५० परिवार विस्थापित भएका छन्।
मुख्यगरी आगलागी, चट्याङ, जनावर आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने, सर्पदंशलगायत घटनाबाट उक्त क्षति भएको हो ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सबैभन्दा बढी विपद्का घटना कोशीमा १४३ वटा घटेको छ । मधेस प्रदेशमा १०६, बागमती प्रदेशमा ३३, काठमाडौँ उपत्यकामा ३५, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ४२ वटा विपद्का घटना भएका छन्।ती विपद्का घटनाबाट करिब १५ करोडभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको पनि प्रवक्ता काफ्लेले बताए।

