काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सञ्चालन हुने अभिमुखीकरण तालिमको शुल्क नबढेको जानकारी दिएको छ । विभागले मंगलबार विज्ञप्ति जारी गर्दै हाल कायम रहेको ७०० रुपैयाँ शुल्कमै तालिम सञ्चालन गर्नुपर्ने जनाएको हो । विभागका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ बमोजिम प्रतिप्रशिक्षार्थी अधिकतम ७०० नै शुल्क तोकिएको छ । केही स्थानमा शुल्कवृद्धि गरिएको भन्ने हल्ला फैलिए पनि त्यसमा कुनै सत्यता नरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सूचनामा २ दिनसम्म सञ्चालन हुने उक्त तालिमका लागि तोकिएको शुल्कभन्दा बढी लिन नपाइने उल्लेख छ । वैदेशिक रोजगारसम्बन्धी ऐन, नियम तथा कार्यविधिअनुसार सबै तालिम प्रदायक संस्थाहरूले निर्धारित शुल्कमै सेवा दिनुपर्ने विभागले जनाएको छ । कुनै संस्थाले तोकिएभन्दा बढी शुल्क असुलेको पाइएमा कारबाही गरिने चेतावनी दिँदै विभागले त्यस्ता संस्थाको इजाजतपत्रसमेत खारेज गर्न सकिने जनाएको छ । विभागले श्रमिकहरूलाई शुल्कसम्बन्धी अनियमितता भएमा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरेको छ ।
ADVERTISEMENT

