वीरगञ्ज – स्काईलाइन इन्फ्रा लिमिटेड, वीरगञ्जले केही अनलाइन मिडियामा प्रकाशित ‘१ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल’ सम्बन्धी समाचारप्रति कडा आपत्ति जनाएको छ। कम्पनीले चैत १९ गते पत्रकार सम्मेलन गर्दै उक्त समाचार पूर्ण रूपमा भ्रामक, प्रायोजित र आफ्नो प्रतिष्ठामाथि आघात पुर्याउने उद्देश्यले तयार पारिएको दाबी गरेको हो।
कम्पनीका अनुसार उखोज पत्रकारिता केन्द्रसँग सम्बन्धित भनी ‘उकालो’ अनलाइनमा प्रकाशित सामग्री कुनै तथ्यगत आधारबिना, कम्पनीको धारणा नलिई तथा प्रमाणहरू अध्ययन नगरी सार्वजनिक गरिएको हो। स्काईलाइनले यस्तो एकपक्षीय समाचार पत्रकार आचारसंहिताको उल्लंघन भएको जनाएको छ।
साथै, कम्पनीले उक्त समाचारले भूमिसुधार तथा मालपोत कार्यालयमा विचाराधीन विषयलाई प्रभावित पार्ने उद्देश्य देखिएको उल्लेख गरेको छ। समाचारमा असम्बन्धित व्यक्तिहरूको नाम जोडिनु पनि नियोजित प्रयास भएको कम्पनीको भनाइ छ।
स्काईलाइन इन्फ्राले आफूले कुनै पनि व्यक्तिको जग्गा हडपेको नभई कानुनी प्रक्रिया पूरा गरी खरिद–विक्री सम्पन्न गरेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार उक्त जग्गा मालपोत कार्यालय पर्साबाट विधिवत् दर्ता गरिएको छ र वीरगञ्ज महानगरपालिकाबाट नक्शा पास गराई भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
कम्पनीले सम्बन्धित निकायमा आवश्यक प्रमाणहरू पेश गरिसकेको र विगतमा उठेका विवादहरू अदालतबाट टुंगो लागिसकेको जानकारी पनि दिएको छ।
अन्त्यमा, कम्पनीले भविष्यमा यस्ता भ्रामक र एकपक्षीय समाचार नप्रकाशन गर्न आग्रह गर्दै, पुनः यस्ता गतिविधि दोहोरिएमा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

