काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुग्ध किसानले सरकारी संस्थानबाटै पाँच महिनादेखि भुक्तानी पाएका छैनन् । नियमित भुक्तानी दिनेगरी विभिन्न समयमा भएका सम्झौताहरूको उल्लंघन गर्दै दुग्ध विकास संस्थानले किसानलाई दूध बेचेको पैसा पाँच महिनादेखि दिएको छैन ।राजधानी काठमाडौं लगायतका बजारमा संस्थानले हरेक दिन नगदमा दूध बेच्दै आए पनि पाँच महिनासम्म दूधको भुक्तानी नपाउँदा किसानहरू मर्कामा परेका छन् मण्डनदेउपुर नगरपालिकाका आँपघारी दुग्ध उत्पादक सहकारी संस्था, सरस्वती दुग्द उत्पादक सहकारी संस्था र इन्द्रावती बहुउद्देश्यीय दुग्ध सहकारी मार्फत दूध संकलन गर्ने जोगिटार चिलिङ सेन्टरको मात्र झन्डै एक करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
यो समस्या लिएर दुग्ध विकास संस्थानको लैनचौरस्थित कार्यालय पुगेका किसानहरूलाई संस्थानले विभिन्न बहाना बनाउँदै आएको छ । कोरोना अवधिदेखि आर्थिक मन्दी सुरु भएको र पछिल्ला दिनमा दूधको खपत घटेका कारण समयमा भुक्तानी दिन नसकिएको संस्थानले भनेको छ ।आगामी दिनमा संस्थान किसानलाई समयमै दूधको भुक्तानी दिने प्रयासमा रहेको र यो समस्या नदोहोरिने आश्वासन पाएको आँपघारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र नेपालले जानकारी दिए ।अब पनि नियमितरुपमा भुक्तानी नपाए सबै किसानहरु जुटेर केन्द्रीय कार्यालय घेराउ गर्ने उनीहरूको चेतावनी छ ।सरकार र आन्दोलनरत दुग्ध किसान तथा डेरी उद्योगबीच बक्यौता रकम गएको दशैंअघि भुक्तानी गर्ने सहमति भएको थियो । त्यतिबेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पशुपति ढुंगाना र केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनका पदाधिकारीलगायतबीच ६ बुँदे सहमति भएपछि आन्दोलनरत किसानले विरोधका सबै कार्यक्रम स्थगन गरेका थिए ।
दुग्ध उत्पादक कृषकलाई २०८२ असार मसान्तसम्मको दूधको भुक्तानी असोज ५ गतेभित्र गर्ने सहमति भएको थियो । त्यस्तै साउन मसान्तसम्मको बाँकी बक्यौता असोज ३० गतेभित्र र भदौ मसान्तसम्मको बाँकी बक्यौता रकम कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएको थियो । त्यसपछि बाँकी पैसा नियमितरूपमा भुक्तानी गर्दै जाने सहमति भए पनि यसको कार्यान्वयन भएन । त्यसैले किसान फेरि आन्दोलित हुने अवस्था आएको छ ।मण्डनदेउपुरमा दूध उत्पादन गर्ने किसानको संख्या १० हजारभन्दा बढी छ । उनीहरुले दैनिकरूपमा करिब २५ हजार लिटरभन्दा बढी दूध राजधानीका बजारमा पठाउँछन् । काभ्रेपलाञ्चोकबाट मात्र ३ लाख भन्दा बढी लिटर दूध उपत्यका जाने पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ पशु चिकित्सक डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
ADVERTISEMENT

