काठमाडौं — परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा जारी युद्धबारे सामाजिक सञ्जालमा अफवाह र फेक न्यूज फैलाउने गतिविधमा संलग्न नहुन आग्रह गर्दै आएको छ । मन्त्रालयको आग्रहलाई बेवास्ता गर्दै केही व्यक्ति यस्ता गतिविधिमा संलग्न भएकोमा आज आयोजित प्रेस ब्रिफिङमा चिन्ता व्यक्त गरेको छ ।मन्त्रालयका अनुसार खाडी युद्ध सुरु भएयता हालसम्म यस्ता गतिविधिमा संलग्न ११ जनालाई सम्बन्धित देशको प्रशासनले पक्राउ गरेको छ । युएई, कतार, साउदी अरब र ओमानको प्रशासनले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।'नेपालीको सुरक्षा प्राथमिकता, उच्चस्तरीय पहल तीव्र'परराष्ट्रले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रम र त्यहाँ रहेका नेपालीको सुरक्षा तथा हितलाई केन्द्रमा राख्दै काम गरिरहेको जनाएको छ । कार्यक्रममा मन्त्रालयले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे अद्यावधिक जानकारी दिँदै सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी तनाव दोस्रो महिनामा प्रवेश गरेको छ भने ड्रोन तथा मिसाइल आक्रमणहरू अझै जारी रहेका छन् । यद्यपि, आक्रमणको तीव्रतामा केही कमी आएको देखिएको मन्त्रालयले दाबी गरेको छ । सरकारले उक्त क्षेत्रको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको पनि जनाएको छ सरकारले सम्भावित बहुआयामिक प्रभावहरूको मूल्यांकन तथा व्यवस्थापनका लागि उच्चस्तरीय अन्तर-मन्त्रालयीय कार्यदल गठन गरेको छ ।उक्त कार्यदलले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरूसहित प्रतिवेदन तयार पार्ने भनिएको छ । परराष्ट्रले हालसम्म प्राप्त विवरणअनुसार अधिकांश नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ ।केही घटनामा सामान्य चोटपटक लागेका नेपाली नागरिक उपचारपछि घर फर्किसकेका र युएईमा एक नेपालीको निधन भएको परराष्ट्रले बिफ्रिङमा जानकारी दिएको छ । साथै, विभिन्न कारणले मृत्यु भएका ३८ नेपालीका शव नेपाल ल्याउने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ । उद्धार तथा आवागमन सहज बनाउन नेपाल वायुसेवा निगमले विशेष उडान सञ्चालन गर्ने निर्णय भइसकेको छ । काठमाडौं–दुबई–काठमाडौं तथा काठमाडौं–दमाम–काठमाडौं उडानमार्फत नेपालीलाई स्वदेश फर्काउने तथा शव व्यवस्थापन गरिने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले २४सैं घण्टा सञ्चालनमा रहेको इमरजेन्सी कन्ट्रोल रूममार्फत हालसम्म सयौँ सम्पर्क भएको जनाएको छ । साथै, खाडीका विभिन्न देशस्थित नेपाली नियोगहरूमा हटलाइन र र्यापिड रेस्पोन्स टिम सक्रिय रूपमा परिचालन गरिएको जनाइएको छ ।अन्य समसामयिक विषयमा परराष्ट्रमन्त्रीले पोर्चुगलका समकक्षीसँग टेलिफोन संवाद गरेको, राहदानी प्रणाली सुधार प्रक्रिया अघि बढेको तथा दक्षिणपूर्वी एसियामा अवैध अनलाइन स्क्यामिङमा परेका नेपालीको उद्धार जारी रहेको जानकारी दिइयो । मन्त्रालयका अनुसार हालसम्म उक्त क्षेत्रबाट ५३७ नेपालीको उद्धार गरिएको पनि जानकारी दिइएको छ ।
ADVERTISEMENT

