काठमाडौं । ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा शुक्रबार अर्थात् असोज १६ गते हुँदैछ ।स्थापनाको दुई दशक पूरा गरेको बैंकले सधारणसभा गर्दैगर्दा देशकै अब्बल र विश्वसनीय बैंंकमध्ये एउटा बैंकको रुपमा आफूलाई स्थापति गरेको छ । आफ्नो व्यावसायिक यात्रामा बैंकले आफ्नो वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यवसायिक पहुँचलाई निरुन्तर विस्तार गर्दै गएको छ । हाल देशभर ग्लोबल आईएमई बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालय सहितको सेवा सञ्जाल रहेको छ । बैंकले देशभरका विभिन्न सेवा माध्यममार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट समेत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ खर्ब ४४ करोड, कुल कर्जा ४ खर्ब ७६ अर्ब ८४ करोड रहेको छ । निक्षेप र कर्जामा रहेको यो वृघि क्रमशः २१.८० प्रतिशत ८.२२ प्रतिशत हो ।गत आवको अन्त्यसम्ममा बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यस आर्थिक वर्षमा बैंकले ६ अर्ब ३ करोड अर्ब खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो ।
उक्त नाफाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशतको लाभाशं वितरण गर्ने प्रस्ताव साधारणसभामा लगेको छ । ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयरसहितको यो लाभांशसाधारणसभाबाट पारित भएसँगै दशैँअघि नै वितरण गर्ने बैंकको योजना छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकको वित्तीय सूचकको हाइलाइट्स यसप्रकार छन् :
प्रतिशेयर आम्दानी : १५.८४ रुपैयाँ (गत वर्ष १३.३२ रुपैयाँ)
मूल्य आम्दानी अनुपात : १५.१६ गुणा (गत वर्ष १९.४९ गुणा)
प्रतिशेयर किताबी मूल्य : १८२.६३ रुपैयाँ (गत वर्ष १७४.८० रुपैयाँ)
पुँजीकोषमा प्रतिफल (आरओई) : ८.८६ प्रतिशत (गत वर्ष ७.९३ प्रतिशत)
सम्पत्तिमा प्रतिफल (आरओए) : ०.८० प्रतिशत (गत वर्ष ०.७९ रुपैयाँ)
निष्क्रिय कर्जा अनुपात : ४.९८ प्रतिशत (गत वर्ष ४.८६ प्रतिशत)
पुँजीकोष अनुपात : १२.०५ प्रतिशत (गत वर्ष १२.६५ प्रतिशत)
ब्याजको स्प्रेडदर : ३.२८ प्रतिशत (गत वर्ष ३.८७ प्रतिशत)
निक्षेप खाता : ५९ लाख भन्दा बढी
कर्जा खाता : ९० हजार भन्दा बढी
अब्बल सञ्चालक समिति र व्यवस्थापन सहित वित्तीय सूचकमा क्रमिक सुधार गरेको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तथा दिगो बैंकिङमाफ्न् दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यमा समेत योगदान दिएको छ । समीक्षा वर्षमा मात्रै बैंकले ४ करोड रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गरेको छ । दिगो बैंकिङअन्तर्गत बैंकले हरित कर्जालाई प्रागमिकता दिएको छ । यस अन्तर्गत वातावरणीय तथा सामाजिक पक्षलाई आफ्नो व्यवसायिक गतिविधिसँग जोड्ने प्रतिबद्धता नै बैंकले गरेको छ । बैंकले ग्रीन होम लोनलाई प्राथमिकता, रुफटपसोलार पीभी लोन, क्लाइमेट स्मार्ट एग्रिकल्चर लोन, ग्रीन एसएमई लोन जस्ता हरित कर्जा लगायतलाई प्राथमिकता दिँदै आएको छ । यसको उद्देश्य वातावरण संरक्षण गर्ने मात्र नभई दीर्घकालीन व्यवसायिक अवसर र जोखिम व्यवस्थापन गर्नु समेत रहेको छ । बैंकले दिगो बैंकिङलाई वित्तीय समावेशितासँग जोड्ने वित्तीय पहुँचबाट बाहिर रहेका वर्गलाई औपचारिक वित्तीय प्रणालीमा ल्याउने प्रयास समेत गर्दै आएको छ ।
ADVERTISEMENT

