काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जलवायु परिवर्तनसम्बन्धी सूचकहरुको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा जलवायु परिर्वतन सूचकहरुलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको छ । विभागले आइतबार सार्वजनिक गरेको यससम्बन्धी प्रतिवेदनमा हरितगृह ग्याँसका स्रोत तथा कारकहरु, जलवायु अतिशय घटनाहरु तथा जलवायुजन्य विपद्हरु, जलवायु अतिशय घटनाहरु तथा जलवायु जन्य विपद्हरुबाट सिर्जित क्षति तथा प्रभाव, सम्मुखता, संवेदनशीलता, अनुकूलन क्षमता तथा न्यूनीकरण क्षमता उल्लेख छन् ।
प्रतिवेदनमा २६० वटा जलवायुसँग सम्बन्धित सूचकहरु समेटिएको भएता पनि हाल १५० वटा सूचकहरुको तथ्याङ्क मात्र उपलब्ध रहेका छन् भने बाँकी सूचकहरुको तथ्याङ्क सम्बन्धित मन्त्रालय तथा विभागहरूबाट सङ्कलन गरी आगामी प्रतिवेदनहरुमा उपलब्ध गराइने विभागले जनाएको छ । यो प्रतिवेदनले पेरिस सम्झौताअनुरूप जानकारीहरु नियमित गर्न राष्ट्रिय संयन्त्रहरुलाई परिस्कृत गर्नेछ भन्ने विश्वास लिइएको विभागको वातावरण तथ्याङ्क शाखाका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिए । यो प्रतिवेदन केन्द्रीय तथ्याङ्क विभाग तथा अक्सफोर्ड पोलिसी म्यानेजमेन्टको प्राविधिक तथा आर्थिक सहयोगमा तयार पारिएको हो ।

