काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुशी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल गरेका थिए । मन्त्री बस्नेतले भदौ १४ गते प्रतिष्ठानमा डायलासिस सेवाको सुभारम्भ गरेका थिए । डायलासिस सेवा सुरु भएपछि डायलासिस गर्न सुर्खेत वा नेपालगन्ज पुग्ने गरेका मिर्गौला फेल भएका विरामीलाई सहज भएको छ ।मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास र उपचार सेवा विस्तारका लागि आफूले पहिलो प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । स्थानीयवासीले मन्त्री बस्नेतको भ्रमणपछि प्रतिष्ठानमा स्वास्थ्य सुविधा थपिने र उपचार सेवा सहज हुने आशा गरेका छन् । चन्दननाथ ३ का स्थानीय मनमाया रोकायाले भनिन्, ‘ स्वास्थ्य मन्त्रीज्यूले जुम्लामा थप स्वास्थ्य सेवा विस्तार गर्ने बताउनु भएको छ । अहिले डायलासिस सेवा सुभारम्भ भयो । हामी जुम्लावासी खुशी भएका छौँ ।’
मन्त्री बस्नेतले बोलेको कुरा पुरा गर्ने भन्ने सुनेकोले उनप्रति आफूहरुले बढी विश्वास गरेको स्थानीय व्यापारी कमल सेजुवालले बताए । उनले भने, ‘अरु ठाउँको भन्दा जुम्लाको स्वास्थ्य सेवा प्राथमिकतामा राख्छु भन्नु भएको छ । बचन पुरा गर्नु हुनेछ भन्ने लागेको छ ।सोही अवसरमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश पाण्डव संभाजीरावले स्वास्थ्य मन्त्री बस्नेतलाई स्कील ल्याव टेनिङ सेमुलेसन उपकरण हस्तान्तरण गरेका थिए । यी उपकरणले प्रतिष्ठानमा विभिन्न तालिम सञ्चालनका लागि सहज हुनेछ ।

