काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा कार्यविभाजनको गृहकार्य थालेको छ । ६३ जनाको पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति सार्वजनिक गरेपछि उनीहरुको कार्यविभाजनको तयारी थालिएको हो ।कार्य समिति सार्वजनिक भएपछि बसेको कार्यकारिणी समितिको बैठकमा पनि नेताहरुले पार्टीभित्र कार्य विभाजन गरेर संगठनलाई क्रियाशिल गर्न सुझाव दिएका थिए ।पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले पार्टीका अध्यक्ष महन्थ ठाकुर आन्तरिक तयारीमा लागेका छन्, दशैंपछि विभाजनको काम सम्पन्न गर्ने सोनलले बताए । अध्यक्ष ठाकुर स्वयंले पनि कार्य समितिमा कार्य विभाजन गराएर संगठनलाई अगाडि बढाउने बताउँदै आएका छन् ।
'चाडपर्व सुरु भएको छ, यो बीचमा आन्तरिक गृहकार्य हुन्छ, दशैं सकेपछि त्यस बारेमा नेताहरुसँग छलछफल गरेर टुग्याइनेछ' सोनलले भने । कार्य विभाजनको खाका तयार गर्ने जिम्मेवारी पनि अध्यक्ष ठाकुरलाई नै दिइएको छ । यसअघि पनि कार्य समितिको नामावली अध्यक्ष ठाकुरले तयारी गरेका थिए ।
दशैंको अवसरमा नेताहरुलाई आआफ्नो क्षेत्रमा जान अध्यक्ष ठाकुरले निर्देशन दिएका छन् । आआफ्नो क्षेत्रमा गएर संगठनका लागि काम गर्ने त्यसकै आधारमा कार्यविभाजनको काम अगाडि बढाउने तयारी अध्यक्ष ठाकुरको रहेको लोसपाका सचिव मनिष मिश्रले बताए ।अध्यक्ष ठाकुर कार्य विभाजनको लागि आन्तरिक तयारीमा जुटि सकेका छन्, दशैं मनाएर नेताहरु काठमाडौँ फर्केपछि छलफल गरेर त्यसलाई अन्तिम रुप दिने मिश्रले बताए ।

