काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत सीईओ राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए ।
भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको बताए । ‘संघको आधिकारिक बैंक खातामा रहेको पैसा आफूखुशी चलाउन पाइँदैन । विधि र प्रक्रिया पुरा गरिसकेपछि हामी त्यसलाई पुनःसंचालनमा ल्याउँछौं । कार्यालयको सचिवालय पुनसंरचना गरी व्यवस्थित ढंगले चलाउँछौं । स्वघोषित अवैध समितिले सचिवालय र बैंक खातामा हस्तक्षेप गर्ने प्रयास गरे त्यो किर्ते र अवैधानिक हुनजान्छ ,’ अध्यक्ष शर्माले भने ।

