विराटनगर । यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् ।राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् ।फैसलापछि फरार भएका तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो । मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरुविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
पक्राउ परेका पाँच जना फरार प्रतिवादीबाट ३९ वर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख २२ हजार ३०८ जरिवाना असुल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
आर्थिक वर्ष २०६९–०७० र ०७०–०७१ सम्म भएका राजस्व अनियमितताको मुद्दामा तत्कालिन उपसचिव भट्टराईलाई दुई वर्ष छ महिना कैदसहित १४ लाख पाँच हजार बिगो र त्यसको दोब्बर जरिवाना र पौडेललाई ८ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो ।लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल र लेखापाल टंकबहादुर खड्कालाई आठ– आठ वर्ष कैद, दुई करोड २० लाख ५२ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला गरेको थियो । कायम गरेको थियो ।सोही कार्यालयको राजस्व हिनामिनाको अर्को मुद्दामा उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार बिगो, विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र पाँच करोड ८३ लाख ९२ हजार बिगो र नयराज नेपाललाई आठ वर्ष कैद र ६ करोड १७ लाख ६४ हजार बिगो कायम गरिदिएको हो ।
तीन जनाको हकमा विगो भन्दा दोब्बर जरिवानाको फैसला भएको थियो । लेखा अधिकृत टीकाराम अधिकारीलाई ९ वर्ष कैद र १४ करोड ७ लाख ९६ हजार बिगोको दोब्बर जरिवाना तोकेको थियो । लेखा अधिकृत कुमार कटवाललाई ६ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपैयाँ बिगोको दोब्बर जरिवानाको फैसला भएको थियो ।राजस्व हिनामिना प्रकरणका मुख्य नाइके लेखापाल सुरेश अधिकारीलाई ९ वर्ष कैद, १५ करोड ३ लाख ९९ हजार ९८६ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।लेखापाल देवराज नेपाललाई साढे ८ वर्ष कैद र ११ करोड २२ लाख ६३ हजार बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो । रुद्रप्रसाद दाहाललाई ८ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवानाको फैसला भएको थियो ।
ADVERTISEMENT

