बुटवल । लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले वाह्य पर्यटकको आगमन बढाउन सरकारीस्तरबाट नीतिगत सुधारको माग गरेका छन् ।नेपाल प्रवेश गर्ने सीमा नाका र अध्यागमन कार्यालयहरु परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरु चर्को गर्मीमा घण्टौं लाइनमा र गाडीभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ ।यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकचाँच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीऔंल्याएका छन् ।
लुम्बिनी प्रदेशका पर्यटकस्तरदेखि पाँच तारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनी (एनएचए) ले लुम्बिनी केबलकार लि.संग गरेको अन्तर्क्रियामा एशोसिएसनका अध्यक्ष प्रविणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्र्याउन र उनीहरुको बसाइ अवधि लम्ब्याउन नसकिने बताए ।
भारतीय र तेस्रो मुलुकका पर्यटकलाई नेपाल घुम्न आएका बेलामा निश्चित परिमाणमा मात्र रकम बोक्न पाइने प्रावधानले नेपाललाई नै घाटा भएको भन्दै अध्यक्ष पाठकले सीमा नतोकी चाहेजति रकम बोक्न दिनुपर्ने व्यवस्था गर्न माग गरे ।एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले केबलकार सञ्चालनमा आएपछि बुटवल गुल्जार हुने आशा पलाएको भन्दै यसको प्रवद्र्धनमा सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने बताए । केबलकारमा पर्यटन सूचना केन्द्र स्थापना गर्न उपाध्यक्ष गौचनले सुझाव दिए ।
एशोसिएसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले भारतीय पर्यटकका हकमा कम्तीमा एक लाख रुपैयाँ साथमा ल्याउन दिनुपर्ने माग गरे । ‘पर्यटकलाई चाहेजति पैसा ल्याउन नदिएपछि पर्यटन व्यवसाय कसरी फस्टाउँछ ?’, श्रेष्ठले प्रश्न गरे, ‘बाह्य पर्यटकलाई जतिसक्दो धेरै रकम साथमा ल्याउन पाइने कानुनी व्यवस्था सरकारले गरिदिनुपर्छ अनि मात्र पर्यटनबाट लाभ लिन सकिन्छ ।एशोसिएसनका सदस्य प्रविन शाक्यले भारतको उत्तर प्रदेश र बिहारको करिब ४० करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै वर्षेनी नेपाल आकर्षित गर्न सके पर्यटन व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भन्दै भारतीय पर्यटकलाई प्राथमिकता दिन र सम्मानजनक व्यवहार गर्न आग्रह गरे । भारतीय पर्यटकलाई लक्षित गरेर टुर गाइड तयार गरी मार्केटिङ गर्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
अन्तर्क्रियामा लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले पर्यटक चढेका भारतीय सवारी साधन सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने प्रावधान उपयुक्त नभएकाले चुरे पहाडको फेंदीसम्म ल्याउन पाउने व्यवस्था हुुनुपर्ने औंल्याए ।केवलकारको माथिल्लो स्टेशनमा बनेको कामाख्या देवी मन्दिर हिन्दु धर्मावलम्बी भारतीय पर्यटकलाई आकर्षण बनेको बताए ।केवलकारको माथिल्लो स्टेशनमा ४० लाख लागतमा जीप लाइन सञ्चालनमा आइसकेको, डेढ करोड लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान छिट्टै सञ्चालन हुने र साढे ३ अर्ब लगानीमा १५० कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट हल, क्यासिनो र स्वीमिङ पूल सहित पांचतारे होटल निर्माणको तयारीमा रहेको उनले जानकारी गराए ।
ADVERTISEMENT

