काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारस्थित ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ वटा सडक खण्डको भर्चुअल निरीक्षण गरेका हुन् । उनले एक्सन रुमबाटै आयोजनाका अधिकारीहरुसँग कामको प्रगति, समस्या र चुनौतीबारे कुराकानी गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, यातायात सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल र गणेप्रसाद पाण्डेय तथा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल समेत ‘एक्सन रुममा उपस्थित थिए ।२०७९ साउनसम्म सबै काम सकिनुपर्ने बुटवल–नारायणगढ सडक खण्डको काम अहिले करिब ३९ प्रतिशत मात्रै सकिएको छ । थपिएको म्यादअनुसार महिनामा औसत ४ प्रतिशत प्रगति हासिल गर्नुपर्ने यो आयोजनामा एक प्रतिशत पनि प्रगति हासिल भइरहेको छैन । खाल्डैखाल्डा भएको यो सडकखण्ड भएर यात्रा गर्ने हजारौं यात्रु दैनिक प्रभावित भइरहेका छन् भने धुलो/हिलोबाट स्थानीय पीडित छन् । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले कामको गति बढाएको छैन ।पश्चिम खण्डतर्फ त स्थानीय तहहरुले ढुंगा गिट्टी बालुवा उपलब्ध गराउन आनाकानी गर्दा पनि समस्या भएको छ । हालको म्याद अनुसार आगामी २०८१ जेठसम्म सकिनुपर्ने यो आयोजना अहिलेकै गतिमा आगामी ५ वर्षमा समेत सक्न मुस्किल हुने देखिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
पर्यटकीय नगरी पोखरालाई जोड्ने मुग्लिन–पोखरा सडक खण्डको हालत पनि उस्तै छ । अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का लिएको ४८ किलोमिटरको पश्चिम खण्ड (पोखरातर्फ) मा हालसम्म ७० प्रतिशत काम सकिनुपर्नेमा ११ प्रतिशत मात्रै काम भएको छ । यो सडकको पूर्व खण्डतर्फ पनि कामको गति लक्ष्यअनुसार छैन । यिनै समस्या प्रधानमन्त्रीले एक्सन रूमबाट सुनेका थिए ।
ADVERTISEMENT

