पोखरा । आगामी शनिबार ५ फागुनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करण तयारी पूरा भएको छ । यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजक भूतपूर्व खेलाडी मञ्चलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।प्रतियोगितामा नेपालसँगै केन्या, चीन, भारत, बेलायत, जर्मनीलगायत १४ देशका धावक ४२.१९५ किलोमिटरको म्याराथनमा सहभागी हुने आयोजक संस्थाका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । म्याराथन बिजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।त्यस्तै, पोखरा म्याराथन अन्तर्गत नै हुने महिलाहरुको हाफ म्याराथनमा ७० जना प्रतियोगी सहभागी हुनेछन् । २१ किलोमिटर दूरीमा हुने उक्त दौड विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् ।अघिल्लो वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजक संस्थाहरुको छाता संगठन एम्सको सदस्यता पाएको पोखरा म्याराथनले यस वर्ष रन फर रनबाहेक सबै दौडमा चिप्सको प्रयोग गर्ने भएको छ ।
म्याराथनको रुट परिवर्तन, ३ घन्टा बाटो बन्द
यस वर्ष म्याराथनको रुट पनि परिवर्तन गरेको छ । अघिल्ला संस्करणमा म्याराथनको अधिकांश रुट सहरी भागमा परेको र त्यसले असर पु¥याएको भन्दै रुट परिवर्तन गरेको हो ।यसवर्ष पोखरा फेवाताल सिरानलाई मुख्य रुटमा प्रवेश गराएको छ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथन मियापाटन, पृथ्वीनारायण क्याम्पस, जिरो, हल्लनचोक हुँदै घाँटीचोक पुगेर फेरि क्याम्पिङ चोकमा आएर अन्त्य हुनेछ ।पहिले बढी कोर सिटी एरिया भएर अलि समस्या भएको थियो । तर, यो पटक कोर सिटी एरिया थोरै पर्ने गरी रुट डिजाइन गरेका छौं’, निवर्तमान अध्यक्ष तेज गुरुङले भने, ‘यो हुँदा धावकहरु हिमाल हेर्दै ताल छेउमा दौडन पाउँछन् ।’
आयोजकका अनुसार पोखरा म्याराथनले पोखराका १७ वटा वडा छुनेछ । मुख्य बजार क्षेत्रमा १७ किलोमिटर र बाँकी ग्रामीण क्षेत्र पर्ने गरी रुट निर्माण गरिएको संस्थाले जनाएको छ । विगतमा पोखरा रंगशालादेखि सुरु भएर रंगशालामै सकिन्थ्यो ।साथै, प्रतियोगिताका बेला रुट पर्ने क्षेत्रमा ३ घण्टा गाडी चल्न निषेध गरिएको छ । यातायात व्यवसायीले बिहान ७ बजेदेखि १० बजेसम्म सवारी साधन नचलाउने प्रतिवद्धता जनाएको आयोजक भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीले जानकारी दिए ।
अधिकांश रुट व्यस्त सडकमा नपर्ने भएकाले सवारी साधन रोक्न समस्या नपर्ने पराजुलीको दाबी छ । ‘पहिलेजस्तो धेरै कोरसिटी एरियामा रुट छैन । ठूलो समस्या हुँदैन’, उनले भने ।प्रतियोगितामा रन फर रनसहित ८ इभेन्टमा प्रतिस्पर्धा हुने भएको हो । त्यसमध्ये ह्विलिचयर र दृष्टिविहीन दौड भइसकेका छन् । रन फर रनमा करिब १० हजार संख्यामा धावकहरु सहभागी हुने आयोजकको विश्वास छ ।पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो । १८ औं संस्करणमा विभिन्न इभेन्टका ४१ जना विजेतालाई कूल १८ लाख १६ हजार रुपैयाँ पुरस्कार वितरण गरिने निवर्तमान अध्यक्ष तेज गुरुङले जानकारी दिए ।
ADVERTISEMENT

