काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको ओरालो यात्रा रोक्न एमाले सत्ता समीकरण फेरबदलमा लागेको दाबी गरेका छन् । मंगलबार एमाले बागमती प्रदेश कमिटीको बैठकमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै महासचिव पोखरेलले मुलुक ओरालो यात्रामा अघि बढिरहेका बेला सत्ता समीकरणमा बदलाव ल्याएको बताएका हुन् ।
ओरालो यात्रालाई रोक्ने र मुलुकलाई सकारात्मक दिशातर्फ फर्काउने प्रयत्न गरिरहेका छौ’, महासचिव पोखरेलले भने, ‘र हामीले हाम्रा मन्त्री र कामका जिम्मेवारीहरूलाई प्रभावकारी बनाउने कुरा प्रमुख कर्तव्य त हुँदै हो । सँगसँगै सरकारलाई पनि सकारात्मक दिशातिर बढाउने कुरामा हाम्रो भूमिका रहनुपर्दछ ।’
नेता पोखरेलले यो समीकरण पूर्ण कार्यकालसम्म अगाडि बढाउने एमालेको चाहाना भएको पनि बताए । ‘विगतका तिता अनुभव पनि छन् । गएको समयका अवस्थाहरूलाई विश्लेषण गरी हामीले अहिले स्ट्याटेजी बदलेका छौँ’, पोखरेलले भने, ‘हामीले हाम्रो पार्टीको हैसियतअनुसार भागेदारी खोजेका छैनौँ । किनभने हाम्रा लागि राष्ट्र र जनता केन्द्रमा छन् । मुलुकलाई संकटबाट बाहिर निकाल्न चाहन्छौँ ।’

