काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ ।भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई महत्त्व दिएको बताइन् ।
भेटमा मन्त्री चौधरीले भनिन्,‘ हामीले कूटनीतिक सम्बन्ध विस्तार गरेको ५० वर्ष पूरा गरेकोमा खुसी लागेको छ । प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकार भनेको हामीले फिनल्यान्डसँग खुसीसाथ साझा गर्ने मूल्यहरू हुन् । दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्न उच्चस्तरीय भ्रमणको आदानप्रदान आवश्यक छ ।मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायहरूको उत्थान गर्ने प्रयासहरूमा फिनल्यान्डको सहयोग नेपालको लागि फलदायी हुने विश्वास व्यक्त गरिन् । साथै उनले कोभिड १९ को कठिन समयमा नेपाललाई सहयोगको हात बढाएकोमा फिनल्यान्ड सरकार र जनतालाई धन्यवाद पनि दिइन् ।

