काठमाडौँ । पछिल्लो समय कमेडी क्षेत्रमा एउटा नाम चर्चित हुन थालेको छ । ती हुन् – प्रभात लामा । प्रभात कहिले कांग्रेस नेता मोहम्मद आफताब आलम त कहिले पूर्वराजा ज्ञानेन्द्र शाह बनिरहन्छन् । ‘कमेडी नाइट विथ च्याम्पियन’को गत साताको भागमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका थिए । त्यो भागपछि हो उनी सबैको नजरमा परेका । तर उक्त क्यारिकेचरले उनको चर्चा मात्र चुलिएन । पूर्वराजाको नक्कल गरेको भन्दै उनलाई केही मान्छेहरूले धम्कीसमेत दिए ।
क्यारिकेचरकै कारण फोन तथा म्यासेजलगायत विभिन्न माध्यमबाट थर्काइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए । पूर्वराजा शाहको क्यारिकेचर चर्चामा मात्र रहेन, धेरै विवादमा पनि पर्यो,’ उनी भन्छन्, ‘यसले मलाई आगामी दिनमा अझ सजगताका साथ अगाडि बढ्न बाटो देखाएको छ ।’ तर चर्चालाई सफलता मान्ने उनी विवादलाई भने मार्गनिर्देशकका रूपमा लिने गरेको सुनाउँछन् ।प्रभातले पूर्वराजा शाहको क्यारिकेचर गरेको यो पहिलो पटक भने होइन । करिब १३ वर्षअघि (२०६८) जतिवेला उनी काठमाडौँ भर्खरै छिरेका थिए, त्यो समय गाईजात्राको अवसर पारेर रेडियो अडियोमा ‘गाईजात्रा प्रतियोगिता’ आयोजना भएको थियो । उक्त प्रतियोगिताका लागि उनले आफैँले कन्टेन्ट लेखेर अडियो बनाई सहभागिता जनाएका थिए, जहाँ उनले २ हजार २ सय रुपैयाँ नगद पुरस्कार पनि जित्न सफल भएका थिए ।
उक्त समय पूर्वराजा शाहका अलावा स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पत्रकार ऋषि धमलाको उनले क्यारिकेचर गरेका थिए ।
‘त्यही समयदेखि नै मलाई फेरि पूर्वराजा शाहको क्यारिकेचर गर्न मन लागिरहेको थियो,’ प्रभात भन्छन्, ‘पछिल्लो समय देशमा फेरि राजा फर्किन्छन् कि भन्ने माहोल बनिरहेका वेला दुर्गा प्रसाईं र माननीय ज्ञानेन्द्र शाहीजस्ता व्यक्ति उहाँलाई फर्काउने अभियानमा लाग्दा यो विषय राम्रो हुन्छ भन्ने ठानेर उठाएको हुँ ।’
पूर्वराजाको क्यारिकेचरलाई समसामयिक व्यंग्य मात्र मानेका उनी आफ्नो प्रस्तुतिले राजपरिवारलाई नभई ‘अन्धभक्त’हरूलाई मात्र बढी समस्या ठानेको बताउँछन् । भन्छन्, ‘पूर्वराजा शाहको क्यारिकेचरमा राजनीतिक विधाका जोकहरू प्रस्तुत गरेको थिएँ । त्यो मेरा लागि रुचिको विषय पनि हो ।’
तर पूर्वराजा ज्ञानेन्द्रको क्यारिकेचर गर्ने उनी पहिलो व्यक्ति भने होइनन्, यसअघि पनि ‘कमेडी च्याम्पियन सिजन–३’ मा प्रेम विश्वकर्माले गरिसकेका छन् । त्यसवेला पनि धम्की नआएको होइन, तर त्यसप्रतित खासै वास्ता नगरिएको लामा बताउँछन् । ‘कमेडियन भरतमणिले (भरतमणि पौडेल) पनि पूर्वराजपरिवारका सदस्य पारस शाहको नक्कल गर्दा केही भएको हुनुपर्छ,’ उनी अनुमान लगाउँछन् । र अहिलेको विवादमा पनि राजपरिवार संलग्न नरहेको उनलाई लागेको छ ।
‘खासमा राजपरिवारलाई यसले समस्या पार्दैन । उहाँहरूले कहिल्यै पनि यसलाई नराम्रो भन्नुहुन्न, किनभने दरबार आफैँमा कलाक्षेत्रलाई सम्मान गर्ने ठाउँ हो । पहिले दरबारमै बोलाएर कलाकारहरूको कार्यक्रम गराइन्थ्यो । हौसलाका लागि सम्मान र पुरस्कार दिइन्थ्यो,’ उनी भन्दै गए, ‘समस्या कसलाई हुँदो रहेछ भने जो अवसरवादी छन् । राजा आउँदा अवसर र चलखेल गर्ने कल्पना गरेर बसेका छन् ।’
पूर्वराजाको क्यारिकेचरमा गणतान्त्रिक मुलुकका नेतृत्वलाई बढी व्यंग्य गरिएको उनी दाबी गर्छन् । ‘उहाँहरूको मिडियामा दिने अन्तर्वार्ता र व्यवहारमा फरकपन, उहाँहरूकै कारणले गणतन्त्र सकिँदै छ भन्ने सन्देश पनि दिएको थिएँ,’ उनी भन्छन्, ‘पूर्वराजा शाहप्रति प्रस्तुतिमा सन्तुलित नै थिएँ ।’
कमेडीमा किन ? सानैदेखि कलाकारितामा रुचि भएका प्रभातको कमेडीप्रतिको आकर्षण भने कलाकार नारद खतिवडाका कारण बढेको हो । सानैदेखि खतिवडाका प्यारोडी गीतहरू सुनेर अरूलाई सुनाउने गर्थे । ‘त्यसरी गीत गाएर सुनाउँदा मानिसहरू हाँस्थे, मलाई खुसी लाग्थ्यो । अनि म पनि कमेडी गर्न सक्दो रहेछु भन्ने लाग्थ्यो,’ उनी बालापन सम्झिन्छन् ।
उनको कमेडीप्रतिको लगावको अर्को रोचक क्षण छ । ‘एकपटक मनोज गजुरेल दाइको गाईजात्राको पोस्टर देखेर म बर्दियामा एक्लै हाँसिरहेको थिएँ, साथीहरूले ‘बौलायो कि क्या हो’ भनेर गाली गरे,’ उनी सुनाउँछन्, ‘त्यो वेलादेखि नै मलाई कमेडीप्रति अनौठो आकर्षण बढेको हो ।’
२०६८ मा काठमाडौं आएपछि उनलाई पहिले यहाँ बस्न र खान समस्या पर्यो । त्यसका लागि उनले सञ्चारकर्म रोजे । आरजे, समाचार वाचकको काम गर्न थाले । यो काम गर्दा पनि उनको कमेडीप्रतिको आकर्षण कहिल्यै घटेन । समाचार रिपोर्टिङकै सिलसिलामा पनि उनी कमेडी गर्दै साथीभाइलाई हँसाउँथे । त्यो क्रममा कति साथीभाइले कमेडी गर्न सुझाएको उनलाई अहिले पनि सम्झना छ ।
समाचारमा काम गर्दैगर्दा पनि उनको मन कलाकारितामै थियो । त्यसपछि उनको भेट राजेन्द्र पोखरेलसँग भयो । पोखरेलले उनको कमेडीको पाटो देखेर कमेडी गर्न हौस्याएपछि उनको करियरले नयाँ मोड लियो । उनी विभिन्न महोत्सव, कार्यक्रममा सहभागी भएर कमेडी देखाउन थाले । त्यसले उनको प्रतिभा निखारिँदै गयो भने उनी पनि चिनिन थाले । त्यसपछि उनले राजेन्द्र पोखरेलको माध्यमबाट जनता टेलिभिजनबाट प्रसारण हुने ‘नेपाली कमेडी शो’मा प्रतिभा देखाए । रेडियो अडियोमा कमेडी कार्यक्रम गर्न थाले । त्यो समय उनले गरेको राजेन्द्र खड्कीको क्यारेक्टर पहिलो भाइरल प्रस्तुति बन्यो । त्यसपछि केशव स्थापितको गरे, जसले उनलाई सर्वसाधारणमाझ कमेडियनका रूपमा चिनाउने काम गर्यो ।
कलाकार मनोज गजुरेल समूहले गाईजात्राको अवसर पारेर प्रज्ञाभवनमा आयोजना गरेको ‘२०८० सालको गाईजात्रा’मा उनले जब ‘महावीर पुन’को क्यारिकेचर गजुरेलको ‘एलन मस्क’ अवतारसँगै प्रस्तुत गरे, त्यसपछि उनलाई यो क्षेत्रमा पछि फर्किएर हेर्नु परेको छैन । ‘महावीर पुन’पछि ‘आफताब आलम’ र ‘माया भाउजू’, ‘मेयर हर्क साम्पाङ’, ‘स्वर्गीय नेता सुवास नेम्वाङ’, ‘दीपकराज गिरी’, ‘राजेश हमाल’ जस्ता अनेक पात्रमार्फत उनी दर्शकको मन जित्दै आए ।
आलम बन्दा डर लाग्यो
प्रभात पछिल्लो समय विशाल भण्डारी निर्देशित ‘कमेडी नाइट विथ च्याम्पियन’ मार्फत नियमित हास्यव्यङ्ग्य प्रस्तुति दिँदै आएका छन् । जसमा उनले वैज्ञानिक महावीर पुन, विवादित नेपाली कांग्रेस नेता मोहम्मद आफताब आलम, पूर्वराजा शाहलगायत थुप्रैको क्यारिकेचर गरेका छन् ।
तीमध्ये आफताब आलमलाई हास्यव्यङ्ग्यमा उतार्न निकै सोचविचार र मिहिनेत गर्नुपरेको उनी बताउँछन् । ‘मलाई यसअघि कुनै पनि पात्रको क्यारिकेचर गर्न सोच्नु परेको थिएन, तर यो पात्र गर्दा धेरै सोचेको थिएँ,’ उनी भन्छन्, ‘आलमको विषयमा आएका सम्पूर्ण समाचार, भिडियोहरू हेरेपछि मलाई उनी भयानक व्यक्ति भएको छाप पर्यो ।’ उनी जेलमुक्त भएपछि आमजनताले न्यायालयको निर्णयप्रति गरेका गुनासो र आलोचनाको विषय व्यङ्ग्य गर्न मन लागेको उनी सुनाउँछन् ।
‘जब कार्यक्रम छायाङ्कनमा आलमको क्यारिकेचर गरेँ, साथीभाइहरूले ल है, अलि खतरनाक मान्छे हो, सुरक्षामा चुनौती हुन सक्ला भनेर निकै डर देखाए,’ उनी थप्छन्, ‘त्यो प्रस्तुतीपछि मेरो अंश झमेलामा नपरोस् भनेर कार्यक्रमको ट्रेलरमा समेत हालिएन ।’ कार्यक्रमका पाहुना र प्रसारणपछिको दर्शकको तारिफले भने मन प्रफुल्लित भएको उनी सुनाउँछन् ।
महिलाको क्यारिकेचर दुरुस्तै
प्रभात पछिल्लो समय भने ‘माया भाउजू’को रूपमा पनि चिनिन थालेका छन् । ‘कमेडी नाइट विथ च्याम्पियन’मै उनले गरेको यो चरित्र पनि निकै चर्चित छ । यो पात्रमा कतिपयले त उनलाई साँच्चिकै महिला पनि ठानेका छन् ।
मलाई जिन्दगीमा छोरी मान्छेको पात्र बनेर कमेडी गर्न नपरोस् जस्तो लाग्थ्यो । तर समयले गर्न लगायो,’ उनी पेसाप्रतिको इमानदारिता बताउँछन्, ‘मेरो शरीर नै छोरामान्छेको जस्तो छ, त्यसमाथि एक्सरसाइज गरेर बनाएको शरीरमा कसरी छोरी मान्छे देखिएला भन्ने लाग्थ्यो ।’
एक दिन अचानक साथी पवन भट्टराईको जोडी बन्दा महिला पात्र बनेको र त्यस दिनदेखि आफूलाई यो चरित्र पनि फिट लाग्न थालेको उनी बताउँछन् । ‘त्यही वेला म र पवन श्रीमान् श्रीमती बन्ने आइडिया बन्यो,’ उनी थप्छन्, ‘ठिकै होला भनेर गरेको पात्र दर्शकले झन् धेरै मन पराउनुभयो ।’
अहिले बाटोमा हिँड्दा कतिपयले ‘माया भाउजू’ भनेर समेत जिस्काउने गरेका छन् । भन्छन्, 'चर्चा राम्रो भए पनि पुरुषलाई महिला पात्र बन्दा रमाइलो नै लाग्दो रहेनछ ।’