काठमाडौं । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गणेशप्रसाद भट्टका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता भट्टले काठमाडौं महानगरपालिकाले गरिब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने बताए । ‘त्यसपछि गरिब घरपरिवारको परिचयपत्र वितरण गरिन्छ र त्यो परिचयपत्रको आधारमा उनीहरुले सरकारबाट पाउने विभिन्न सेवा सुविधा पाउँछन्,’ प्रवक्ता भट्टले भने ।गरिब तथ्याङ्क संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन ।
काठमाडौं महानगरमा खटिए २०९ गणक काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् ।काठमाडौं महानगरपालिकाका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीका अनुसार १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए ।
सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।उनीहरुले ट्याब्लेटमा विभिन्न विवरणहरु भर्दै तथ्यांक संकलन गर्नेछन् । त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई काठमाडौं महानगरपालिकाले तालिमसमेत दिएको थियो ।