
बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको थियो । छलफलपछि समितिले सर्वसम्मत रूपमा विधेयकलाई पारित गरेको छ । समिति सभापति अम्मरबहादुर थापाले विधेयक मंगलवार (भोलि) बस्ने प्रतिनिधिसभा बैठकमा पेश हुनेगरी विधेयक पारित गर्न समिति सदस्यहरूलाई आग्रह गरेका थिए ।
लगत्तै सबै सदस्यहरूले सहमति दिएसँगै विधेयक पारित भयो ।पारित भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयकमा सुरक्षण मुद्रण सामग्री भन्नाले प्रयोगका लागि तयार गरिएको नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, बैंक नोट, भिसा स्टिकर, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सवारी चालक अनुमतिपत्र, जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा सम्झनुपर्दछ र सो शब्दले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सुरक्षण मुद्रण सामग्री भनी तोकिएका अन्य सामग्रीलाई समेत जनाउँछ भनेर परिभाषित गरिएको छ ।