आगलागी नियन्त्रण गर्न नेपाल-भारतका सुरक्षाकर्मीको संयुक्त अभ्यास
zeenepal
२०८० चैत्र २९,
9
Shares
नेपालगन्ज : आगलागी नियन्त्रणका लागि नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्त अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल(एपिएफ) र भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले बिहीबार संयुक्त रुपमा अभ्यास गरेका हुन् । उक्त अभ्यासको विपद ब्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीले नेतृत्व गरेका थिए ।
सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भारतीय सशस्त्र प्रहरी बल ४२ नम्बर बटालियनका कमाण्डेट गंगासिंह उदावत, नेपाली सेना बज्रदल गण राँझाका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख एवम् उप-अनुसन्धान निर्देशक ओमबहादुर खड्का, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगी, स्थानीय जनप्रतिनिधि लगायत दुबै देशका सुरक्षा अधिकारी उपस्थित भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक डाँगीले घटनामा परिचालन हुनुभन्दा अगाडी केही अभ्यास गरियो भने आफु सुरक्षित भई आगलागी समेत नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले यस्तो अभ्यास गरिएको बताए । उनले भने, ‘सिमा क्षेत्रमा कुनैपनि आगलागीका घटना घट्यो भने समयमै कसरी आगोलाई नियन्त्रण गर्न सकिन्छ भन्ने हिसाबले संयुक्त अभ्यास गरेका हौं ।’