काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिए । उनीहरुले प्राडा महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका हुन् ।
पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरूको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरूको निष्कर्ष छ । पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न मोर्चाले आह्वान गरेको छ ।
जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।

