काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा प्राडा अजय भट्टराई नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई सेवा आयोगको सदस्यमा नियुक्त गरेका हुन् शिक्षामन्त्रीको अध्यक्षतामा रहेको सदस्य सिफारिस समितिले भट्टराईलाई सिफारिस गरेको थियो । कुलपति प्रचण्डले समितिको सिफारिस अनुसार नै नियुक्त गरेका हुन् । उनीसँगै प्राडा सञ्जय आचार्य वैकल्पिकमा परेका थिए ।
सदस्यका लागि ८ जनाले आवेदन दिएका थिए । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । सोही आधारमा ८ जनाले आवेदन दिएका थिए ।आयोगको अध्यक्षमा गत भदौमा प्रा.डा घनश्याम भट्टराई नियुक्त भएका थिए । सदस्यका लागि प्राडाहरू खगेन्द्र प्रसाद लुइँटेल, राजनारायण यादव, मुकुन्द प्रसाद क्षेत्री, लालप्रसाद अम्गाईं, सञ्जय आचार्य, अजय भट्टराई, ज्ञानबहादुर थापा र नवराज कट्टेलको दरखास्त समितिले स्वीकृत गरेको थियो ।

