सिंगापुर बैंकमा विदेशी मुद्रा भेटिएपछि सुनिलविरुद्ध अर्को मुद्दा
zeenepal
२०८१ श्रावण ३,
6
Shares
काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध विशेशी मुद्रा गैरकानुनी रुपमा कारोबार गरेको अभियोगमा बुधबार काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर गरिएको छ ।सिंगापुर बैंकमा विदेशी मुद्रा भेटिएपछि सुनिलविरुद्ध अर्को मुद्दा राजस्व अनुसन्धान विभागले सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली विदेशी मुद्रा अमेरिकी डलर ५८ हजार अर्थात् नेपाली रुपैयाँ ७७ लाख ४५ हजार ९ सय अवैध कारोबार गरेको दाबीसहित मुद्दा दायर गरेको हो ।
पौडेलविरुद्ध बिगो कायम भएको रकम र जरिवानासमेत २ करोड ३२ लाख ३७ हजार माग दाबी गरी मुद्दा दायर गरिएको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए । पौडेललाई विशेष अदालतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र अभियोगमा पुर्पक्षका लागि थुनामा राखेको छ । त्यस्तै पेमेन्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा पनि दोषी ठहर गरिसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी मुद्रा अपचलनबारे थप छानबिन गरी मुद्दा दायर गर्न अनुसन्धान विभागलाई जिम्मा लगाएको थियो । पौडेलले सरकारको अनुमतिबिना नै सिंगापुरमा डलर खाता खोलेको र घुसबापतको आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १६ अनुसार नेपालमा बसोबास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्विकृत लिनुपर्छ । तर पौडेलले राष्ट्र बैंकको स्विकृत नलिई खाता खोलेर रकम जम्मा गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । पौडेलविरुद्ध अख्तियारले गत वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विदेशी मुद्रा अपचलनको मुद्दा राजस्व विदेशी विनिमय नियमन गर्ने ऐनअन्तर्गत चल्ने भएकाले राजस्वलाई जिम्मा लगाइएको थियो ।
सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक भएका बेला पौडेल विभिन्न ठेक्कापट्टामा संलग्न भएर स्वदेशी आपूर्तिकर्ता कम्पनीहरूसाग ठेक्का सम्झौता गरेको अभियोग छ । सम्झौताका बेला कम्पनीले विदेशी कमिसन लिएको दाबी अख्तियारले गरेको थियो । विदेशी कम्पनीहरूले कमिसनबापत पौडेलको सिंगापुरको बैंक खातामा रकम जम्मा गरेको दाबी अख्तियारले गरेको थियो ।पौडेलले जागिरमा प्रवेश गरेदेखि करिब एक करोड १९ लाख आम्दानी गरेको देखिएको छ । तर उनले नेपाल र सिंगापुरमा समेत गरी २४ करोड ९४ लाख रुपैयाँ सम्पत्ति जोडेको अनुसन्धानबाट देखिएको थियो ।