बागमती किनारका संरक्षण गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
zeenepal
२०८१ श्रावण ९,
9
Shares
काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाग्मती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारे जानकारी लिएपछि उनले बनाइएका कतिपय ढल प्रयोगमा नआएको र पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएकाले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा ध्यान दिन निर्देशन दिएका हुन् ।
उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न निर्देशन दिए । ‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बनाएको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए ।
यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बाह्रै महिना सङ्लो पानी बगाउनेतर्फ पनि ध्यान दिन जोड दिए । बाग्मतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए । ‘बाग्मतीमा १२महिनै पानी बगाउन हामीले सोच्नुपर्छ । धाप ड्यामको क्षमता पशुपतिमा हुने ठूला चाडपर्वको दिनमात्र पानी बगाउन सकिने खालको छ । त्यसैले धाप ड्यामभन्दा तल नागमती ड्याम बनाउने तयारी छ ।
त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालयले सहजीकरण गर्ने उनले बताए । ‘नागमती बन्न त केही वर्ष लाग्ला । त्यो बनेपछि गरौंला भनेर त भएन । बाग्मतीमा पानी बगाइराख्न वैकल्पिक केही गर्न सकिन्छ की हेर्नुपर्यो,’ उनले भने ।बाग्मती भन्दा कुरुप नदीहरुलाई विभिन्न देशहरुले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै मन्त्री सिंहले बाग्मती नदी स्वच्छ रुपमा बगाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउने समेत बताए ।