मतदाता नामावली संकलनबारे निर्वाचन आयोगको ११ निर्णय
zeenepal
२०७९ जेष्ठ ३१,
66
Shares
काठमाडौं ३१ जेठ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुरु गर्ने जानकारी दिएको छ । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धमा आयोगले विभिन्न ११ निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
जसअनुसार सबै निर्वाचन कार्यालयहरू र सवै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा ईलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गरिनेछ । यस्तै पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्नेछन् । यसैगरी मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने शर्माले जानकारी दिए ।
यस्तै कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश पाइए त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको उजुरी दिन सकिनेछ । छानबिनपछि नाम दर्ता अधिकारीले त्यस्तो नाम हटाउन सक्ने गरी आयोगले निर्णय गरेको छ । यसैगरी कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछन् । ‘निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने’, आयोगको निर्णयमा भनिएको छ ।
यस्तै कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गर्ने निर्णय पनि भएको छ ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि कुनै व्यक्तिले इमेल वा फ्याक्स मार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो निवेदन उपर प्रमाण कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावली अद्यावधिक गर्ने निर्णय पनि भएको छ । २०७३ माघ २० भन्दा अघि दर्ता भई नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावली रहेका व्यक्तिले नागरिकतामा उल्लेखित ठेगानामा नै मतदाता नामावली सारी पाउन निवेदन दिएमा आवश्यक प्रवन्ध मिलाउन सकिने गरी आयोगले निर्णय गरेको छ ।