दाङको देउखुरी क्षेत्रमा पछिल्लो केहि समय यता अत्यधिक मात्रमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विद्यार्थीहरुलाई ट्राफिक नियमको बिषयमा अभ्यास गराउन थालेको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले स्कूल—स्कूलमा गई ट्राफिक सचेतना दिन थालेको छ । सवारी दुर्घटनामा सबै भन्दा बढी विद्यार्थीहरु उच्च जोखिममा रहेको भन्दै प्रहरीले आफ्नो सक्रियता बढाएको हो । दाङ—देउखुरीको भालुवाङमा मात्रै केहि महिना यता सवारी दुर्घटनामा परी करिब २१ जनाको ज्यान गएको छ । गएको साउन १५ गते भालुवाङमा ट्रकको ठक्करबाट सोही ठाउँ निवासी बर्ष ५० का फलफूल ब्यापारी लोकप्रसाद भट्टराईको घटनास्थल ज्यान गयो ।
भट्टराईले जेब्रा प्रयोग नगरेर सडक पार नगर्दा ट्रकको ठक्करबाट ज्यान गएको प्रहरीको भनाई । यस्तै गएको असार २२ गते मिनिट्रकको ठक्करबाट कालाकाटे निवासी बर्ष ४४ का सन्तोषकुमार योगीको पनि घटनास्थल मै ज्यान गयो । उहाँलाई बिपरित दिशाबाट आएको मिनीट्रकले ठक्कर दिएको थियो । त्यस्तै गत पुस २७ गते भालुवाङको राप्ती पुलबाट यात्रु बोकेको बस खस्दा करिब १२ जनाको पनि घटनास्थल मै ज्यान गयो । त्यहाँ भएका सबै दुर्घटनामा ट्राफिक नियम पालना नगरे कै कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।बितेको एक बर्षमा भालुवाङमा मात्रै सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् भने २३ जना घाइते भएको प्रहरीले जनाएको छ । यस्तै देउखुरी क्षेत्रमा मात्रै सवारी दुर्घटनामा परी ६० जना बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये भालुवाङ बजार क्षेत्रमा सबै भन्दा बढी दुर्घटना हुने गरेको छ ।
धमाधम सवारी दुर्घटना बढ्न थालेपछि ईलाका प्रहरी कार्यालय भालुवाङ र अस्थाई ट्राफिक पोष्ट भालुवाङले आफ्नो इलाका क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतना दिन शुरु गरेको छ भने सडकमै ल्याई सडक प्रयोग गर्ने तरिका, जेब्रा क्रस कसरी गर्ने र ट्राफिक नियम लगायतका बिषयमा अभ्यास गराउन सुरु गरेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमरबहादुर माझीले बताउनु भयो ।
विद्यालयमा पठाइने पाठ्यपुस्तकमा ट्राफिक नियम बारे बिषयबस्तु नभएको र सबै भन्दा बढी सडक बालबालिका तथा विद्यार्थीहरुले प्रयोग गर्ने भएको हुँदा प्रहरीको सहयोगमा ट्राफिक सचेतना शुरु गरिएको लिटिल एन्जल्स स्कूल भालुवाङका प्रधानाध्यापक शोभाखर भुसालले जानकारी दिनुभयो । ट्राफिक सचेतना र सडक अभ्यासले आफूहरुलाई ठुलो ज्ञान प्राप्त भएको विद्यार्थीहरुको भनाई छ । उनीहरुले ट्राफिक नियम सम्बन्धी शिक्षा पाठ्यपुस्तकमा नभएकोले आफूहरुलाई ट्राफिक नियम बारे थाहा नभएको अवस्थामा प्रहरी मार्फत पाएको ट्राफिक नियम बारे जानकारी, सडक प्रयोग गर्ने र जेब्रा क्रस गर्ने तरिका लगायतका महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन् सवारी दुर्घटना प्राय ट्राफिक नियमको पालना नगर्दा नै हुने गर्दछ ।
ट्राफिक नियमको पालना सवारी चालक र पैदलयात्री दुबै पक्षले गर्न जरुरी छ । सडक दुर्घटनाका अन्य थुप्रै कारण हुन सक्छन् तर सवारी चालक र पैदलयात्रीले मात्र ट्राफिक नियमको पालन गर्न सक्ने हो भने केही हद सम्म सवारी दुर्घटनालाई कम गर्न सकिन्छ भन्नेमा दुई मत छैन । तसर्थ ट्राफिक नियमको पालन गराउन प्रहरीको सक्रियता संगै नागरिक पनि उत्तिकै जिम्मेवार हुन आवश्यक छ ।
ADVERTISEMENT

