काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठ्न नदिन सरकार सचेत रहेको बताएका छन् ।मौन अवधिको सन्दर्भमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन अवधिको लागि सुरक्षा संवेदनशिलता अनुसार रणनीति तय भएर कार्यान्वयनमा रहेको उल्लेख गर्दै उनले भने, ‘विगतमा मतगणना स्थलमा समेत सुरक्षाको प्रश्न उठेका थिए । त्यस्तो प्रश्न उठ्न नदिन सरकार सतर्क छ । निर्वाचन मार्फत मुलुकलाई अगाडि बढाउन सबै सजग रहेको आफूले पाएको पनि उनले बताए ।
उनका अनुसार एआईसिर्जित डिपफेक सामग्रीको प्रचार ज्यादा छ । निर्वाचन आयोगको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ हानिकारक सूचना ट्र्याक गरिएको छ । ट्र्याक गरिएका त्यस्ता सूचनाउपर कारबाही प्रक्रिया अगाडि बढेको छ । विधुतीय कारोबार ऐन २०६३ आकर्षित हुनेको हकमा कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको छ । निर्वाचन आचारसंहिता २०८२ आकर्षित हुने सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ । प्रेस काउन्सिल ऐन २०४८ आकर्षित हुने देखिएपछि काउन्सिलमै पठाइएको छ ।
ADVERTISEMENT

