विराटनगर । नेकपा एमालेका सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको टिप्पणी गरेका छन् ।बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको भन्दै नौटंकी नगर्न आग्रह गरे ।
हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ, नेकपा एमाले तयार छ, वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैनन्’, उनले भने ।१० वर्ष मुनिका बालबालिकाको निशुल्क उपचारलगायत मागसहित कांग्रेस सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि आमरण अनशनमा छन् ।
केदार कार्कीले उठाएका सबै माग बजेटमा समवेश भएको बताउँदै एमाले सांसद पाठकले भने, ‘तर यतिबेला बजेटका नामबाट जनतालाई अन्योल गर्ने र प्रदेशलाई अन्योलको भूमरीभित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको बताउँदै उनले कार्कीको गतिविधिको छानबिन गर्नुपर्ने बताए ।
केदार कार्कीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । सांसद पाठकले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निशल्क उपचार हुने बताए ।तर प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क गर्नुपर्ने माग छ ।