
मधेस आन्दोलन क्रममा २०७२ भदौ २५ गते सहादत प्राप्त गरेका तीन जना सहिदको सम्झनामा सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद सुमनले मधेसी जनताले अहिले पाएको अधिकार त्यही सहिदको कारणले सम्भव भएको कारण त्यसलाई सम्मान गर्नुपर्ने कुरामा जोड दिए । मधेस आन्दोलन हुँदा कसैले पनि विश्वास गरेका थिएन देशमा गणतन्त्र आउँछ सङ्घीयता आउँछ र मधेसका छोराछोरी मुख्यमन्त्री, मन्त्री बन्छन् तर त्यही सहिदको सहादतको कारण ती सबै सम्भव भएको र आज छुट्टै मधेस प्रदेश पनि पाएको उनले बताए ।
नेताहरुका लागि प्रेरणाको स्रोत नै सहिद हो भन्दै उनले भने, ‘कुनै सहिदका छोरा छोरी पढ्न पाएको छैन भने त्यसलाई पढाउने जिम्मेवारी हाम्रो हो, कुनै सहिद परिवारको घरमा चुल्हो बलेको छैन भने त्यो चुल्हो बाल्ने जिम्मेवारी हाम्रो हो ।’ भदौ २५ गते एकै दिन सञ्जय चौधरी, नितु यादव र दिलीप यादवले सहादत प्राप्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका कोषाध्यक्ष एवं पूर्वमन्त्री सुरिता साहले मधेसका युवाको बलिदानका कारण यो उपलब्धि प्राप्त भएको बताइन् । उपलब्धिको रक्षाका लागि पनि सहिदलाई सम्झनु पर्छ र उसलाई सम्मान गर्नुपर्ने कुरामा उनले जोड दिइन् ।