काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बहुप्रतीक्षित भेट नयाँदिल्ली वा काठमाडौंमा होइन, न्युयोर्कमा भयो । ३० मिनेटको त्यो भेटको सुयोग पनि संयुक्त राष्ट्रसंघीय महासभाले जुराइदिनुपर्ने अवस्था उत्पन्न भयो ।मोदी बसेको लोट्टे न्युयोर्क प्यालेसमा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल पुग्दा उनी आफ्नो भारतीय टिमसहित भेटवार्तालाई औपचारिकता दिन तयार थिए ।न्युयोर्क भेटपछि मोदीले ओलीसँगका दुई तस्बिर साझा गर्दै लेखेका छन्, ‘प्रधानमन्त्री ओलीसँग भेट भयो । भारत नेपाल सम्बन्ध घनीभूत छ । यस घनिष्टतालाई अझै गति दिनेछाैं । ऊर्जा, प्रविधि र व्यापारमा केन्द्रित हुँदै हाम्रो कुराकानी भयो ।
मोदीले साझा गरेका तस्बिरमा औपचारिकताको भाव नै बढ्ता छ । उनीहरु खुलस्त भावमा प्रकट हुन सकेकाे चाहिँ धेरै देखिँदैन ।यहाँनेर पृष्ठभूमिको थोरै चर्चा गरौं । असार अन्तिम साता प्रचण्ड सरकारलाई विस्थापित गर्दै चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले सुरुदेखि नै भारतीय सद्भाव पाइरहेका थिएनन् । जनमतमा ठूलो, अनि संसदीय सिटमा दोस्रो बने पनि उनका लागि सत्तायात्रा असम्भव जस्तै बन्न गएको थियो ।
संसदबाट सर्वसम्मतिले चुच्चे नक्सा जारी अनि त्यसअघि नाकाबन्दीकालमा लिएको अडानका कारण ओली भारतीय संस्थापन वृत्तमा अप्रिय पात्र मानिएका थिए । भारतीय पक्षले आफूलाई सरकारमा आउन नदिने बुझेपछि उनी हरदम मिसन ८४ मात्रै भन्न थालेका थिए ।कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं आफूलाई प्रधानमन्त्री प्रस्ताव गर्न आएपछि भने राजनीतिक माहोलले कोल्टे फेरेको थियो । यो पृष्ठभूमिमा प्रधानमन्त्री बनेका ओलीलाई नयाँदिल्ली भ्रमणको निम्तो आउँदै आएन ।यता नेपालमा ओली भारतले नचाहेका प्रधानमन्त्रीका रुपमा चित्रित हुँदै थिए । त्यसैले न्युयोर्कमै पनि ओली र मोदीबीच ६ असोजमा भेट हुने तय भएपनि अन्तिम घडीमा स्थगन हुन सक्ने आशंका त्यत्तिकै थियो । अनि निमन्त्रणा कूटनीतिको पनि आफ्नै घनचक्कर थियो ।
भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले दुईपल्ट काठमाडौं आउन निम्तो पठाइसकेका थिए, पहिलो, आफू प्रधानमन्त्री भएपछि मोदीको बधाई लिने क्रममा, अनि परराष्ट्रमन्त्री आरजु राणा देउवामार्फत् दिल्लीमा ।लोट्टे न्युयोर्क प्यालेसमा पनि ओली आफैंले भेटेर मोदीलाई नेपाल निम्तो गरेका छन् । यसपल्ट चाहिँ मोदीले भन्दै सम्बन्ध सुधारको संकेत दिएका छन् ‘प्रधानमन्त्रीज्यूले मोदीजीलाई नेपाल आउनका लागि निमन्त्रणा गर्नुभएको छ,’ परराष्ट्रमन्त्री आरजु राणाले भनिन्, ‘मोदीजीले चाँडै उपयुक्त समय मिलाएर म नेपाल आउँछु भन्नुभएको छ, यो निक्कै सकारात्मक र राम्रो वातावरण हो ।’
यसपल्टको ओली मोदी भेटमा बहुप्रचारित विषय ईपीजीको थियो । अर्थात् सन् १९५० को असमान सन्धि पुनरावलोकन तथा नेपाल र भारतबीच उत्पन्न कतिपय विषयको हल गर्नका लागि के गर्ने भन्ने अन्योल थियो । किनभने भारतीय पक्षले ईपीजी प्रतिवेदन बुझ्न मानेको छैन । दुवै देशका प्रधानमन्त्रीले समय निकाल्न नसकेको कूटनीतिक तर्क दिने गरेका थिए ।
यस्तैमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनेबित्तिकै फ्याट्ट भनिदिए, ‘ईपीजी भारतले बुझ्नु राम्रो हुन्छ ।’ आफ्नो दूतका रुपमा परराष्ट्रमन्त्री आरजु राणा भारत गएर फर्केको अर्को सातामै ओलीले यस्तो लाक्षणिक अभिव्यक्ति दिएका थिए ।
‘के कारण पर्यो, भारतले त्यो बुझेको छैन । त्यो बुझेर कार्यान्वयन गर्ने नगर्ने, कसरी गर्ने, के गर्ने, गर्दै नगर्ने कि भन्ने निर्णय पछि प्रधानमन्त्रीहरूले गर्ने हो’ ओलीले भनेका थिए, ‘रिपोर्ट नै नबुझ्ने सन्दर्भमा हामीले कुराकानी गरिरहेका छौं । यो बुझ्नु राम्रो हुन्छ ।’
न्युयोर्कस्थित उच्च स्रोतका अनुसार लोट्टे न्युयोर्क प्यालेसको दुई प्रधानमन्त्रीस्तरीय भेटमा ईपीजीकै नाम उच्चारण त भएन, तर ओलीले पछिल्लोपल्ट दुई देशका साझा सरोकारबारे उठेका चासोहरुलाई खुलेर प्रस्तुत गरे । उनले कुनै मनोमालिन्य र कचिंगल नहोस् भनेर समस्या समाधानमा साझा रुपमा अग्रसर हुन मोदीलाई प्रस्ताव गरे ।
ओलीको प्रस्ताव सुनेपछि मोदी आफैंले भने, ‘हो हो । यसमा अल्झिनुपर्ने कुनै कारण छैन । हामीले यसअघि भने कुराकानीबाटै सुल्झाउने गरेकै हो । अब पनि गरौं ।’मोदीले दुईपक्षीय कूटनीतिक संयन्त्र सक्रिय गराएर समस्याको समाधान पहल गर्न प्रस्ताव गरे । मोदीको त्यस प्रस्तावलाई ओलीले स्वागत गरेको वार्तामा सहभागी एक कूटनीतिज्ञले बताए । दुईपक्षीय संयन्त्र भनेर मोदीले इपिजीलाई भन्न खोजेका हुन् या अरु कुनै इंगित गर्न खोजेका हुन् भन्नेचाहिँ स्पष्ट छैन ।
दुई प्रधानमन्त्रीबीच आर्थिक मुद्दाहरुमा अझै केन्द्रित हुने, आर्थिक कूटनीतिलाई समेत जोड दिने वार्तामा कुराकानी भएको छ । मोदीले त्यस क्रममा एउटा अर्थपूर्ण भनाइ राखेका थिए, ‘समय बदलिएको छ । अब पछाडि होइन, अगाडि हेर्ने बानी विकास हुनुपर्छ ।’सम्भवतः नेपालको संसदमै उभिएर ओलीले राष्ट्रसंघीय महासभामा जानुअघि आफूले राख्ने एजेन्डाको ब्रिफिङ्गका क्रममा छिमेकीलाई उद्धृत गर्दै दिएको टिप्पणीले भारतीय पक्ष झस्केको हुनुपर्छ । ओलीले अघिल्लो सोमबार संसदमा बोलेका थिए, ‘हामी असल छिमेकीका रुपमा सम्बन्ध राख्न चाहन्छौं । छुद्र र जाली छिमेकी होइन ।’
उनको यो संकेत पक्कै दक्षिणको छिमेकीतर्फ थियो, जसबारे भारतीय पक्ष जानकार नहुने कुरै थिएन । कतिपय कूटनीतिज्ञहरुले ओलीले भारतलाई दबाव बढाउन यो शैली अपनाएको पनि भनेका थिए ।
तर भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने दुई प्रधानमन्त्रीबीच फलदायी र राम्रो भेटवार्ता भएको भन्दै समग्र परिस्थितिको सकारात्मक चित्रण गरे ।
रिमालले अनलाइनखबरसँग भने, ‘दुई देशका प्रधानमन्त्रीबीच राम्रो वातावरणमा फलदायी कुराकानी र संवादहरु भएका छन् ।’
प्रधानमन्त्री आफैंले पनि ट्वीट गर्दै यसको जनाउ दिएका छन् । स्रोतका अनुसार प्रचण्ड प्रधानमन्त्री छँदा एक वर्षअघि भारतसँग भएको विद्युत व्यापार सम्झाैताबारे भेटमा संक्षिप्तमा कुराकानी भएको छ । बंगलादेशमा सत्ता परिवर्तन भएको अवस्थामा नेपाल भारत बंगलादेश त्रिदेशीय विद्युत व्यापारको सम्झाैता कसरी कार्यान्वयन होला भन्ने आशंका पनि छ । यसअघि सम्झाैता हुँदा बंगलादेशको सरकार चलाइरहेकी शेख हसिना वाजेद यति बेला भारत निर्वासनमा छिन् ।भेटमा मुख्य सल्लाहकार रिमालसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय समकक्षी एस जयशंकर पनि सामेल थिए । प्रधानमन्त्रीले विभिन्न देशका प्रमुख अनि स्वयं राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग वार्ता गरे पनि मोदीसँगकै भेटले स्वाभाविक रुपमा बढ्ता चर्चा पाएको हो ।
ADVERTISEMENT