काठमाडौं : अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन ।
प्रारम्भिक विवरणअनुसार २३ सडक ६३ स्थानमा अवरुद्ध भएका छन् भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए । ‘ठाउँ–ठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन, विद्युत तथा इन्टरनेट सम्पर्कविच्छेद हुँदा सबै विवरण संकलन गर्न पनि सकिएको छैन,’ अर्यालले भने ।