काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा फसेका मानिसहरूलाई गृहमन्त्रीले उद्धार गर्न नसकेको भनेर भएको आलोचनाको खण्डन गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले नख्खु खोलामा बाढी आउँदा जस्ताको टहरामा उद्धार पर्खेर बसेका मानिसलाई हेलिकोप्टरबाट उद्धार नगरेको भनेर भएको आलोचनामा प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका हुन् ।
‘मान्छे बगे, रेस्क्यु गर्न सकिएन भनेर त्यहाँका मानिसले जे रिपोर्ट दिए त्यही गृहमन्त्रीले बोल्नुभयो’, ओलीले भने, ‘अलिक तल एक जना भाइले बचाउनु भएछ । उहाँलाई धन्यवाद ।’ प्रधानमन्त्रीले गृहमन्त्रीले बचाउन सकिएन भनेर दिएको अभिव्यक्ति स्थानीयले दिएको सूचनाका आधारमा भएको बताए । ‘जानकारी दिँदै नदिनु पनि राम्रो हुँदैन, कहिले कहिले प्रारम्भिक जानकारी राम्रो नहुन पनि सक्छ । म आफै पनि बगेको थिएँ । यस विषयलाई अपराध र अयोग्यताका रूपमा लिन हुँदैन’, प्रधानमन्त्रीले सरकार राहत, उद्धार र पुनर्स्थापनामा केन्द्रित भएको बताए ।