नेपालगन्ज असोज : बडादशैँको राति एक पुरुषको टाउको छिनाएर सेफ्टीट्याङकिमा लुकाएको आरोप लागेका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुरका चन्द्रबहादुर कामीको टाउको छिनाएर फरार आरोपित परियारलाई बाँकेको राप्तीसोनारीबाट प्रहरीले पक्राउ गरेको हो । रोल्पा जिल्ला माडी गाउपालिका वडा नम्बर–६ बस्ने २४ वर्षीय अनिल परियारलाई चन्द्रबहादुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिनघारी टोल स्थित भौवानाका जाने बाटोको दाँयातर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटि गएको प्रहरी टोली र ईप्रका कुसुम, बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल ओलीको कमाण्डमा खटि गएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।मृतक कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा अनिलको दिदी नाता पर्ने सुनिता परियारको घरको सेफ्टीट्याङकीमा गएरातीमात्रै फेला परेको थियो ।
अनिल पाहुना पर्न सुनिताकोमा आएको बताइएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको अवस्थामा शव फेला परेको थियो ।हत्या आरोपी अनिललाई हिरासतमा लिएर घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको बाँके प्रहरीले जनाएकोछ ।